बुधबार, कार्तिक १०, २०७८

चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत

२३ भाद्र २०७३, बिहीबार ०७:२५

काठमाडौं, २३ भदौ-  प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन् ।

तीन दलले स्थानीय तह पुनर्संरचना आयोगमा तीन दिनभित्र स्थानीय प्राविधिक समितिमार्फत प्रतिवेदन पठाउन आ–आफ्ना जिल्ला कमिटीलाई निर्देशन दिने सहमतिसमेत गरेका छन् । ‘तीन दिनभित्र सहमति खोजेर प्रतिवेदन पठाउन सहयोग गर्न सबैले जिल्ला कमिटीलाई निर्देशन दिइनेछ,’ एमाले स्थायी समिति सदस्य तथा स्थानीय निकाय विभागका प्रमुख किरण गुरुङले भने, ‘फागुन–चैतभित्र निर्वाचन गर्ने प्रतिबद्धतासहित अघि बढ्ने सहमति भएको छ ।’नयाँ पत्रिका दैनिकमा खबर छ ।

एमालेले स्थानीय तहको चुनाव गर्ने सर्तमा सरकारको तयारीलाई सहयोग पु-याउने प्रतिबद्धता जनाएको छ । ‘हामीले तीन दलका तर्फबाट प्रतिबद्धता भएअनुसार सरकारले तयारी अघि बढाउँदा सहयोग गर्ने वचनबद्धता जनाएका छौँ,’ एमाले स्थायी समिति सदस्य किरण गुरुङले भने, ‘फागुन–चैतमै भए पनि चुनाव गर्ने सर्तमा सहमति जनाएर पार्टीको तर्फबाट सदन अवरोध या अरू कुनै पनि प्रकारको व्यवधान नहुने प्रतिबद्धता जनाएका छौँ ।’

स्थानीय तहको संख्यामा कांग्रेस लचिलो स्थानीय तहको संख्या कम्तीमा नौ सय २७ वटा इलाकालाई आधार मानेर बढाउनुपर्ने पक्षमा रहेको कांग्रेस संख्या नबढाउन लचिलो भएको छ । प्रमुख तीन दलको बुधबारको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरानै संरचनाका स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका थिए ।

तर, एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरूले पुरानो संविधानअनुसारको चुनावका लागि गरिने संविधान संशोधन अमान्य हुने अडान राखेका थिए । एमालेविना संविधान संशोधन नहुने निश्चितजस्तो देखिएपछि कांग्रेस पनि संख्यामा लचिलो बनेको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा मध्यमार्गी बाटाोबाट जानुपर्ने बताएका थिए । पुरानो संरचनाको स्थानीय निकायको चुनाव गराउन नसकिने, तर पुरानो इलाकालाई आधार मानेर सहमति खोज्न सकिने उनको भनाइ थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share