काठमाडौँ, २३ भदौ । जननेता विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती शुक्रबार मनाइँदै छ । नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गर्नुभएको थियो । उहाँले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।
उनी पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका थिए । विसं २००७ अगाडि भद्रगोल नजिकैको कारागार जीवनमा रहृका कोइराला नेपाली समाजको गतिशीलता र प्रगतिका लागि चिन्तित थिए । उनले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरे भने भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक काँग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थिए । २००७ मा राणाशासनको अन्त्यपछि वीपी गृहमन्त्री बनेका थिए ।
विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले उनको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बन्दी बनाइको थियो । तत्कालीन राजाको सो कदमपछि प्रजातान्त्रिक समाजवादका संस्थापक नेता भारतमा निर्वासित हुनपरेकाले नेपाली समाजलाई प्रजातान्त्रिक अभ्यास र समयसापेक्ष प्रगति कायम गर्न अवरोध पुगेको थियो ।
भारतमा निर्वासित रहँदा पनि नेपालमाथि विदेशीको षड्यन्त्र भइरहेको थाहा पाएपछि राष्ट्रिय मेलमिलापको नीति लिएर कोइराला विसं २०३३ मा नेपाल फर्के । त्यसपछि पनि उनलाई सुन्दरीजलमा दुई वर्ष कारागार जीवन बिताउन बाध्य बनाइयो । राजनीतिमा मात्र होइन वीपी साहित्यमा पनि उत्तिकै योगदान छ । ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् । उनको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको अर्बुदरोगबाट भएको थियो ।
प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार ०७:०१