बारा । बारा र पर्साका हावाहुरीपीडितलाई बर्खाअघि घर उपलब्ध गराइने भएकाे छ । हावाहुरी र असिनापानीबाट घरबारविहीन भएकाहरूको घर निर्माणको शनिबार १२ स्थानमा घर शिलान्यास गरिएकाे छ । दुई जना उपप्रधानमन्त्रीसहित १० जना मन्त्री र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा शनिबार बारा र पर्साको विभिन्न छुट्टाछुट्टै १२ स्थानमा शिलान्यास भएको हो ।
मन्त्रिपरिषद्को चैत २१ गतेको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा जनता आवास (बारा र पर्सा) कार्यक्रम अन्तर्गत घरहरूको निर्माण कार्य सुरु गरिएको हो । मन्त्रिपरिषद्ले घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले फेटा गाउँपालिका–६ पुरैनियामा, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले परवानीपुर–४ चैनपुरमा, गृहमन्त्री रामबहादुर थापाले प्रसौनी गाउँपालिका–४ खुटवावाजग्दीमा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुवर्ण गाउँपालिका–४ हर्दियामा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पचरौता नगरपालिका–७ बेनौलीमा शिलान्यास गरी घर निर्माणको शुभारम्भ गरे ।
त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले फेटा गाउँपालिका–४ भलुहीमा, खानेपानीमन्त्री बिना मगरले वीरगञ्ज महानगरपालिका ५ उदयपुर घुर्मीमा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले फेटा गाउँपालिका ४ भरवलीयामा भवन निर्माण उद्घाटन गर्नुभएको छ । त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले महागढीमाई नगरपालिका ७ तेलगाईमा र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कलैया उपमहानगरपालिका १३ छोट्की फूलबारिया र देवताल गाउँपालिका ७ रामपुर्वामा नवनिर्माणाधीन घरहरुको शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले हावाहुरीबाट पीडित जनताले समयमै आवासको सुविधा हुने बताउँदै यसका लागि सहयोग पुर्याउन सबैसँग आग्रह गरे ।
हावाहुरी पीडितका लागि आवास निर्माण गर्ने सरकारको निर्णय अनुसार संयोजन समिति गठन गरी आवास निर्माण कार्य अगाडि बढाइएको बताउँदै उनले आवास निर्माणका लागि आवश्यक वजेट, नेपाली सेनाका इन्जिनियरका साथै सबै आवश्यक तयारी पूरा भएसकेको जानकारी दिए ।
कुनै पनि किसिमको ढिलाइ नगरी वर्षायाम सुरु हुनुभन्दा पहिले नै आवास निर्माण कार्यक्रम सम्पन्न गर्ने योजना सरकारको रहेको बताउँदै उनले ‘आवास निर्माणको क्रममा, जग्गा जमीनको समस्या हुन सक्दछ, ऐलानी जग्गा प्रयोग गर्नुपर्ने हुन सक्दछ, प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहयोगको अवश्यकता पर्न सक्छ’ भने ।
सरकारको योजना अनुसार सेनाले समयमा नै आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै उहाँले सेनाको भूमिका र कामलाई थप प्रभावकारी बनाउन प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताए । नेपाली सेनाले निर्माणको मुख्य जिम्मा पाए पनि यस कार्यमा आ–आफ्नो ठाउँबाट सबैको सहयोगको आवश्यकता औँल्याए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश–२ का मुख्यमन्त्री राउतले बारा र पर्सामा चैत १७ गते गएको हावाहुरी र असिनापानीबाट पीडित भएकाहरुको उद्धार र राहतका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीको प्रशंसा गरे ।
हावाहुरीपीडितको आवास निर्माण तथा राहतका लागि प्रदेश सरकारले सबै किसिमको सहयोग गर्नका लागि तयार रहेको बताउँदै उहाँले नेपाली सेनाले पाएको जिम्मेवारी समयमा नै पुरा गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिको प्रतिनिधित्व गर्दै बलाध्यक्ष रथी गौरव तण्डुलले मन्तव्य राखेका थिए ।
बारामा एक हजार ३६२ र पर्सामा ९१ गरी जम्मा एक हजार ४५३ घर निर्माणका लागि १२ वटा समूह बनाएर बैशाख १४ गतेबाट नेपाली सेना आवश्यक बन्दोबस्ती तयारीका साथ सो क्षेत्रमा तैनाथ रहँदै आएको छ । विभिन्न १२ ठाउँबाट एकै पटक निर्माण कार्य सुरु गर्न नेपाली सेनाका इञ्जिनियर लगायत अहिले दुईहजार ३३२ जना दक्ष जनशक्ति परिचालित रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाका दुई हजार छ सय अधिकृत र जवान फिल्डमा खटेका छन् ।
प्रवक्ता पाण्डेका अनुसार, तीन चरणमा सम्पन्न गरिने उक्त ‘जनता आवास’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४८२ घर जेठ २६ गते भित्र, दोस्रो चरणमा ४८२ घर असार २८ गते भित्र र तेस्रो चरणमा ४८९ घर साउन ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।
सरकारले बारा र पर्सामा हावाहुरीबाट भत्किएका एक हजार ४५३ वटा घर निर्माण गर्न नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपियाँ वजेट दिने दिने निर्णय गरेको थियो । सरकारले छुट्याएको रकम अनुसार एउटा घर बराबर पाँच लाख ८२ हजार रुपियाँ खर्च हुने देखिएको छ । यसअघि नेपाली सेनाले एउटा घरपरिवारका लागि आवश्यक पर्ने न्यूनतम् मापदण्ड समेटेर दुई वटा कोठा, एउटा भान्साघर र एउटा शौचालयसहितको घर निर्माण गर्ने प्रस्ताव गरेको थियो ।
हावाहुरी पीडितका लागि बारा र पर्सामा घर निर्माणका लागि प्रदेश–२ सरकारका प्रमुख सचिवको नेतृत्वमा पुनःस्थापना तथा घर निर्माण सहजीकरण तथा समन्वय समिति निर्माण गरिएको छ । समितिको सदस्यमा बारा र पर्साका प्रमुुख जिल्ला अधिकारी, शहरी विकास मनत्रालयका प्रतिनिधि र नेपाली सेनाका प्रतिनिधि रहेका छन् । चैत १७ गते आएको हावाहुरीमा परेर २९ जनाको ज्यान जानुका साथै छ सय भन्दाबढी घाइते र एक हजार ४५३ घर पूर्ण रुपमा ध्वस्त भएका थिए ।
प्रकाशित मिति: २२ बैशाख २०७६, आईतवार ०७:००