काठमाडौं, ८ भदौ । आज हरितालिका पर्व अर्थात् तीज । हिन्दु नारीहरुले हर्ष उल्लासका साथ मनाईरहेका छन ।
तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ सहितका शिवमन्दिरहरुमा श्रद्धालु महिलाहरुको ठूलो भीड लागेको छ । पूजाआजाका लागि लाइन बस्ने तथा पूजा सकिएपछि नाचगान गर्ने महिलाको भीडका कारण पशुपति क्षेत्र पूरै झिलिमिली बनेको छ ।
पशुपति क्षेत्र विकासकोषले यसपटक विशेष पुजा र टिकटको व्यवस्था हटाएकाले दर्शन गर्न सजिलो भएको व्यवस्थापन समितिले जनाएको छ । पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुरक्षा र आपतकालिन स्वास्थ्य सेवाको सम्पुर्ण व्यवस्था मिलाईएको जनाएको छ ।
निराहार ब्रत बस्ने महिलाहरुमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरि व्यवस्थापन समितिले दीर्घायु अस्पताल र रामघाट स्वास्थ्य सेन्टरमा डाक्टर सहितको शैय्याको व्यवस्था मिलाएको छ ।
नाचगान र पूजाआजाका क्रममा चोरी तथा अनावश्यक विवादका घटना न्यूनीकरणका लागि पशुपति क्षेत्रमा करिब सीसीटीभी पनि जडान गरिएको छ । पशुपति दर्शन गर्न पुगेका श्रद्धालु भक्तजन दर्शनार्थीका लागि व्यवस्थापन समितिले मिलाएका प्रबन्धप्रति महिलाहरु पनि खुसी छन् । महिला भक्तजनहरुले सहज ढंगले दर्शन एवं पुजा गर्न पाएको बताए ।
राजधानी बाहिरका जिल्लाहरुमा पनि स्थानीय शिव मन्दिरहरुमा श्रद्धालु महिलाहरुको ठुलो भीड लागेको छ । हिन्दु नारीहरुले आज चुरा, पोते तथा गहना लगाई रातो पहिरनमा सजिएर नजिकैका शिव मन्दिरमा गई पूजाआजा तथा नाचगान गरी तीज मनाईरहेका छन् ।
परापूर्वकालमा हिमालयकी पुत्री पार्वतीले कठोर व्रत गरी आफ्नो कामना अनुसार महादेव पति पाएको धार्मिक विश्वासअनुसार तीज मनाउन थालिएको हो । विवाहित महिलाहरु पतिको दीघार्यु तथा अविवाहितले असल श्रीमानको अपेक्षा सहित निराहर ब्रत बस्ने चलन छ ।
आजको दिन भगवान शिवको दर्शन गरी पति तथा परिवारजनको स्वास्थ्य र दीर्घायुको कामना गरेमा फल पाईन्छ भन्ने जनविश्वास रही आएको छ । मन्दिरको दर्शन गरेर फर्किएका महिलाहरु समूह समुहमा बाँडिएर मन्दिर आसपासको क्षेत्रमा नाचगानमा रमाएका छन् । यस बर्षमा पारिवारीक पीडा, मुलुकको राजनीति तथा समसामयिक विषयलाई गीती भाकामा गाउदै महिलाहरुले रमाईलो गर्ने गर्दछन् ।
प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार १४:०९