सुर्खेत, १५ असार ।
साक्षर जिल्ला घोषणा भइसकेपछि सुर्खेत जिल्लामा साक्षरता सम्बन्धि थप कार्यक्रम सञ्चालन हुन सकेका छैनन् । गत वर्षको जेठ २५ गते सुर्खेतलाई अनिवार्य आधारभूत शिक्षा प्रदायक तथा साक्षर जिल्ला घोषणा गरिएको थियो ।
सुर्खेत जिल्ला साक्षर घोषणा गर्ने वेला ९५ प्रतिशत साक्षर भएको जिल्ला शिक्षा कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको थियो । एक वर्ष अघि साक्षर जिल्ला घोषणा भएको सुर्खेतमा साक्षरोत्तर तथा निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गर्ने शिक्षा कार्यालयले योजना बनाएको थियो ।
जिल्लामा निरन्तर कक्षा सञ्चालनको माग गर्दा समेत केन्द्रबाट नै सुनुवाई नभएको जिल्ला शिक्षा अधिकारी दिपा हमालले बताइन् । उनले साक्षर जिल्ला घोषणा भइसकेपछि माग गरे बमोजिमको कार्यक्रम नआएको बताइन् ।
तर सरकारी कार्यक्रम विना पनि आफु साक्षर हुनको लागि आफैबाट सुरु गर्नु पर्ने खालको चेतना प्रत्येक गाविसमा फैलाउन आवश्यक भएको जिल्ला शिक्षा अधिकारी हमाल बताउँछिन् । उनी भन्छिन्, ‘सरकारले कार्यक्रम ल्याएपछि मात्रै चल्ने नत्र पहिलेको जस्तै अवस्थामा रहने भन्ने हुदैन साक्षर हुनको लागि आफै पनि सक्रिय हुन जरुरी छ ।’
जिल्ला शिक्षा अधिकारी हमालका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा एउटा सामुदायिक केन्द्रले १० वटा कक्षा सञ्चालन भएपनि केन्द्रबाट कार्यक्रम नआउँदा निरन्तर साक्षरता सम्बन्धि थप कार्यक्रम भएनन् ।
सुर्खेतमा बाहिर जिल्लाबाट बसाईसराई गरेर आउनेका लागि साक्षरता सम्बन्धि कार्यक्रम चलाउन अनौपचारिक शिक्षा केन्द्रमा प्रक्रिया चलिरहेको जिल्ला शिक्षा अधिकारी हमालले जानकारी दिइन् ।
सुर्खेतमा बसाई सराई गर्ने धेरै हुने भएकाले सामुदायिक अध्ययन मार्फत कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जिल्ला शिक्षा अधिकारी हमालले बताइन् । उनले सुर्खेतमा ९५ प्रतिशत साक्षरता भएपनि १०० प्रतिशत गराउन चुनौतिपुर्ण रहेको बताइन् ।
जिल्ला शिक्षा अधिकारी हमालले देशभरी गरेर ३३ वटा जिल्ला मात्रै साक्षरता जिल्ला घोषणा भएको हुँदा केन्द्रले अझै केन्द्रित गरेर साक्षरता कार्यक्रम चलाउने जानकारी दिइन । आफु साक्षर हुने अरुका लागि नभएर स्वयम् आफ्नै लागि हो र आफ्नो सचेतपूर्ण सहभागिता जनाउनका लागि सबै साक्षर हुन जरुरी रहेको हुनाले घरमा रहेका विद्यार्थीहरुबाटै पनि साक्षर हुन सकिने उनको भनाइ छ ।
प्रकाशित मिति: १५ असार २०७३, बुधबार १५:५२