सुर्खेत, १६ असार । अटो पास सुर्खेतमा मात्रै परिचित शब्द हो । जग्गा पास गरिदिने र महँगो व्याजमा पैसा लगानी गर्ने अवैध कारोबारको नाम हो, अटो पास । यही शब्दको आधारमा हुने अवैध लेनदेन कारोबार नै यहाँको विक्रराल समस्या बन्दै छ । जहाँ यहाँका सम्रान्त परिवारका सदस्य मात्र होइन, ठूला व्यापारी पनि सहभागि छन् ।लगानी सुरक्षित गर्न जग्गा आफ्नो नाममा पास गर्ने र मासिक ५ देखि १० प्रतिशत सम्म व्याज लिएर पैसा वाला र पहुँचवालाका लागि राम्रो आम्दानीको माध्यम बनेको अटो पासको थालनी भएको धेरै भएको छैन् तर अहिले धेरैको मुखबाट सुनिने शब्द हो, अटो पास ।
सुर्खेत उपत्यकामा जग्गा प्लटिङको कारोबारसँगै अटो पास शब्दको सुर्खेतमा सुरुवात भएको हो । अव्यवस्थित रुपमा सुरु भएको जग्गा प्लटिङबाट धेरै आम्दानी हुने भएकाले जग्गामा लगानी गर्न अटो पासले प्रसय पाएको छ । कठ्ठामा किनेर मिटरमा बेच्दा धेरै फाइदा हुने भएकाले पनि यसमा धेरैको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता छ ।
उद्योग व्यवसायका नाममा बैंकबाट लिएका पैसा उत्पादन क्षेत्र भन्दा बाहिरी बजारमा महँगो व्याजमा दिने गरेका व्यक्तिले नै आफ्नो लगानी सुरक्षित गर्न अटो पास गर्न थालेको हुनाले अहिले अटो पास चर्चामा छ, तर यो अवैध मानिए पनि नियन्त्रण गर्ने कानून भने छैन् ।
कानूनमा उल्लेख नभएको शब्द सुर्खेतमा प्रयोग गरिने स्थानीय शब्द मात्रै भएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्ल बताउँछन् । उनी भन्छन्, ‘व्यवहारमा मात्रै अटो पास हो, कानून त जग्गाको हक छोडेर दिएकै हो ।’
जिल्ला अदालतका श्रेस्तेदार मल्ल अटो पासलाई कानूनले अवैध मानेका बताउँछन् । उनले जिल्ला अदालतमा पछिल्लो समयमा लेनदेन, जग्गा विक्री बदर र चेक अनादरका मुद्दा पर्न थालेको बताए । गत साउन यता अहिलेसम्म लेनदेनका ४० मुद्दा दर्ता भएका मध्ये ११ फ्र्यौट भएको र २९ बाँकी रहेको श्रेस्तेदार मल्लले जानकारी दिए ।
त्यस्तै जिल्ला सरकारी कार्यालयका जिल्ला न्यायाधी वक्ता देवराज भारती अटो पास कानूनी रुपमा अवैध भएको तर व्यवहारमा चलेको बताउँछन् । उनी भन्छन्, ‘यो अवैध हो तर व्यवहारमा चलेको छ ।’ उनले कानूनले तोकेभन्दा बढी व्याज लिने दिने पनि अवैध भएको बताए ।
व्याज लिने दिने बारेमा कानूनले स्पष्ट रुपमा उल्लेख गरे बमोजिम नभए अवैध हुने जिल्ला न्यायाधी वक्ता भारतीले बताए । लिखत तम्सुकमा कानून बमोजिम वार्षिक १० प्रतिशत भन्दा बढी लिन नपाइने कानूनी व्यवस्था भएको उनले जानकारी दिए ।
तम्सुक भएका मितिले दश वर्ष भित्र केही व्याज असुल पनि नभएको भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालिस् लाग्न सक्तैन । दश वर्षको बीचमा भाखापत्र गराएको वा केही व्याज असुल गरेको रहेछ भने सो मितिले फेरि दश वर्षको म्याद पाउँछ भनि मुलुकी ऐनको लेनदेन व्यवहार महल को २ नम्बरमा उल्लेख छ ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र श्रेष्ठ अनुसूचीमा कानूनले नसमेटेको हुनाले अटो पास र धेरै व्याज वा लेनदेनका बारेमा हेर्न समस्या भएको बताए । कानूनी आधार नहुँदा समस्या भएको उनको भनाई छ ।
जग्गा सम्बन्धि ठगी गर्ने एक जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । दैलेख खरीगैरा १ की पवित्रा थापालाई नक्कली जग्गाधनी पूर्जा दिएको आरोपमा गत असार ७ गते पक्राउ परेका सुर्खेत साविक मेहेलकुना ५ नाङ्गीका निराजन राना क्षेत्रीलाई सरकारी छाप, दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नापी कार्यालय सुर्खेतका नापी अधिकृत धर्मराज ओझा प्लटिङको मापदण्ड नहुँदा सुर्खेतमा प्लटिङ नभई जग्गा टुक्रा मात्रै भएको बताउँछन् । उनी भन्छन्, ‘पूर्वाधार विना नै जग्गा टुक्रा भइरहेको छ, यसलाई प्लानिङ भन्न मिल्दैन ।’
कानूनमा यसो गर्ने भन्ने स्पष्ट नभएकाले पनि समस्या भएको नापी अधिकृत ओझाले बताए । उनले भने, ‘यसलाई रोक्ने काम स्थानीय निकायको हो, तर सिफारिस भएर आएमा यहाँ रोक्न मिल्दैन ।’ बाटो नभएको ठाउँमा पनि जग्गा टुक्रा भएको उनको भनाई छ ।
नापी कार्यालयले कित्ता काट् गर्ने मात्रै भएकाले ५ मिटर मोडा र ८५ वर्गमिटर क्षेत्रफल भएको हकमा कित्ता काट् गर्ने गरेको नापी अधिकृत ओझाले जानकारी दिए । उनले कित्ता काट दैनिक यस्तै जग्गाको धेरै हुने गरेको बताए ।
तर मालपोत कार्यालय सुर्खेतका मालपोत अधिकृत काशिराम खत्री भने स्थानीय निकायबाट सिफारिस भइ आएका जग्गा पास गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘अटोपास वा प्लटिङको जग्गा के भन्ने थाहा हुँदैन ।’
मालपोत अधिकृत खत्री पनि यस्ता काम रोक्ने जिम्मा सिफारिस दिने स्थानीय निकायको भएको बताउँछन् । उनी भन्छन्, ‘जग्गा किन्ने र बेच्नेको व्यक्तिगत सल्लाह के हुन्छ, थाहा छैन् मालपोतमा राजीनामा भएर आउँछन् ।’
राजस्व उठेको आधारमा विगतको तुलनामा जग्गाको किन बेच नघटेको मालपोत अधिकृत खत्रीले बताए । प्लटिङको कुरा मालपोत भन्दा बाहिरको कुरा भएको उनको भनाई छ ।
त्यति मात्र नभएर जग्गा खरीद विक्री गर्दा लाभ कर तिर्नु पर्ने भएकाले कारोबार कम देखाउन र राजस्व छल्न जग्गा धनिकै नामबाट जग्गा विक्री समेत हुने गरेका छन् । तर राजस्व छल्न नमिल्ने मालपोत कार्यालयले जनाएको छ ।
लाभ कर तिर्नका लागि वर्ष भरीमा कुनै पनि जग्गा धनिले खरीद विक्री गरेको आधार मान्ने गरिएको मालपोत कार्यालयले जनाएको छ । जसमा वर्ष भरिमा हुने जग्गा धनिको लिखतका आधारमा आयकर ऐन २०५८ अन्र्तगत पूँजीगत लाभकर कारोबारका आधारमा तिर्नु पर्ने व्यवस्था छ ।
एक आर्थिक वर्षमा ३० लाख वा सो भन्दा बढी जग्गाको हस्तान्तरण गर्दा प्राप्त हुने लाभमा पूँजीगत लाभकर लाग्ने कुरा उल्लेख छ । ३० लाख रुपैयाँ वा सो भन्दा माथिको कारोबारमा खरीद गरेको मूल्य र विक्री गरेको मूल्यको अन्तरको मात्रै पूँजीगत लाभकर लाग्ने कानूनी व्यवस्था रहेको मालपोत कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयका अनुसार जग्गा आफ्नो स्वामित्वमा आएको ५ वर्ष भित्रको भएमा ५ प्रतिशत र ५ वर्ष भन्दा बढी भएमा साढे २ प्रतिशत लाभकर लाग्ने छ ।
उसो त स्थानीय निकाय वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत वालाराम शर्मा जग्गा टुक्रा हुनुको मुख्य तीन कारण भएको बताउँछन् । उनी भन्छन्, ‘जर्बुटा, लाटीकोइली र उत्तरगंगा क्षेत्रमा गुरुयोजना, भूउपयोग नीति र सहरी नापी मुख्य समस्या भएको छ ।’
त्यसका अलावा गुरुयोजना तयार नभएका क्षेत्रका जग्गा खरीद विक्रीको सिफारिस दिँदा मापदण्डको समस्या भएपनि घर र घरको नक्शा पास गर्दा ६ मिटरको बाटो हुनु पर्ने मापदण्डलाई भने लागु गरिएको कार्यकारी अधिकृत शर्माले दावी गरे ।
जग्गा कारोबारसँगै बढेको अटोपास, बढी व्याज कारोबार र ढुकुटीका कारण ठूलो मात्रामा पैसा बैकिङ क्षेत्रको पहुँच बाहिर रहेको अनुमान गरिएको छ । जसले गर्दा पिरामिड अवस्थामा रहेको सुर्खेतको मुद्रा बजार जोखिममा परेको विश्लेषण गर्न थालिएको छ ।
त्यति मात्र होइन, कानूनी रुपमा जानकारी नभएपनि चर्को व्याजमा ठूलो रकम खेलाउने केही व्यक्ति भागेको घटनाले गर्दा पनि अवैध रुपमा गरिएका लगानी डुब्ने आशंका गर्न थालिएको छ, वीरेन्द्रगनर बजारमा । जसले गर्दा विना प्रमाण लगानी गरेका व्यक्तिले अहिले जग्गा आफ्नो नाममा लिने काम गर्न थालेका छन् ।
अटो पास र ढुकुटीमा ठूलो रकम गएको भन्ने कुराले बैंक सचेत भएको राष्ट्रिय बाणिज्य बैंक सुर्खेतका प्रमुख होताराम योगीले बताए । उनले राष्ट्रिय बाणिज्य बैंक सुर्खेतबाट भएको सव १ अर्बको लगानी त्यस्तो कारोबारमा प्रयोग नभएको दावी गरे ।
वित्तिय क्षेत्र भन्दा बाहिर गएको पैसा अनुत्पादक क्षेत्रमा लगानी हुने भएकाले सिमित व्यक्तिलाई मात्र फाइदा हुने र समग्र आर्थिक क्षेत्रमा नकारात्मक असर गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक सुर्खेत शाखाका प्रबन्धक कृष्णराज जोशी बताउँछन् । उनी भन्छन्, ‘अनुपादनमुलक क्षेत्रमा लगानी जाँदा रोजगारीको सृजना हुँदैन, त्यसले सिमित व्यक्तिलाई मात्र फाइदा पुग्छ ।’ उनले यस्तो लगानी पिरामीड रुपमा गएको हुनाले जति वेला पनि ढल्न सक्ने बताए ।
व्यवसाय र उद्योगका नाममा बैंकबाट लिएका पैसा समेत बाहिरी बजारमा महँगो व्याजमा प्रयोग हुन थालेपछि आर्थिक अवस्थामा नकारात्मक असर गर्ने काँक्रेविहार विकास बैंक सुर्खेतका प्रबन्धक जगत थापा बताउँछन् । उनी भन्छन्, ‘त्यसरी लगानी भएको रकम उत्पादन मूलक काममा प्रयोग नहुने भएकाले बैंकहरुले लगानी गर्दा ध्यान दिनु पर्छ ।’
प्रकाशित मिति: १६ असार २०७३, बिहीबार १७:५३