चितवन, १९ असार ।
पश्चिम चितवनको चित्रवन नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्वजनिक र गौचरन जग्गा संरक्षण थालेको छ ।
नगरपालिकाको दोस्रो नगर परिषद्ले सार्वजनिक र गौचरन जग्गाको तथ्याङ्क सङ्कलन, सीमाङ्कन र संरक्षण गर्ने निर्णय गरेसँगै काम अघि बढेको हो । कार्यकारी अधिकृत रामचन्द्र अर्यालका अनुसार नगर क्षेत्रमा सार्वजनिक र गौचरन गरी दुई सय बिघा जग्गा छ । सोमध्ये कतिपय व्यक्ति र संस्थाले भोगचलन गर्दै आएका छन् । करिब सय घर सार्वजनिक जग्गामा छन् भने मठमन्दिर, क्लब, विद्यालयलगायत सार्वजनिक संस्थाले पनि जग्गा अतिक्रमण गरेको अवस्था छ ।
सार्वजनिक जग्गाको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । सार्वजनिक गौचरन जग्गा संरक्षणका लागि राजनीतिक दलका प्रतिनिधि रहेको समिति समेत बनाएर काम अघि बढेको कार्यकारी अधिकृत अर्यालले बताउनुभयो । जग्गाको पहिचान भएसँगै कतिपय जग्गामा खुल्लास्थलका लागि छाडिने र खेतीयोग्य जमिनलाई बहाल बिरौटीमा लगाएर आन्तरिक आम्दानी बढाउन सकिने नगरपालिकाको ठहर छ । सो जग्गामा पहिलो चरणमा तारबार गरी संरक्षण गरिँदैछ ।
नगरपालिकाको सबैभन्दा बढी सार्वजनिक जग्गा कार्यालय भएको स्थान वडा नं ८ मा छ, जहाँ ७२ बिघा एउटै भूमिखण्डको छ । सो जग्गामा रङ्गशाला, हरियाली बगैँचा, उद्या, कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र लगायत निर्माण गरिँदैछ । त्यसैगरी नगरपालिका–७ मा गुञ्जनगर माविसँगै १५ बिघा जग्गाको एउटै भूमिखण्ड छ । सोमध्ये केही विद्यालयले उपयोग गरेको छ भने बाँकी बाँझै छ । सोमध्ये १० कट्ठामा हेलिप्याड निर्माण गरिँदैछ भने बाँकी ठाउँलाई खल्ला क्षेत्रका रुपमा विकास गरिने भएको छ । हेलिप्याड निर्माणका लागि दैवीप्रकोप उद्धार समिति र नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य भइरहेको कार्यकारी अधिकृत अर्यालले बताए ।
नगरपालिका–३, ५ र ८ मा सार्वजनिक जग्गामा सुकुम्वासीको बसोबास छ । पच्चिस वर्षयता बसेका उनीहरुले स्थायी संरचना समेत निर्माण गरेका छन् । उनीहरुलाई वैकल्पिक व्यवस्था गरी सार्वजनिक जग्गालाई संरक्षण गर्न मन्त्रालय र जिल्लास्तरमा समन्वय भइरहेको उहाँले बताउनुभयो । सार्वजनिक जग्गा समयमै संरक्षण गर्न सके भविष्यमा आवश्यक मात्रामा खुला क्षेत्र, हरियाली, बालोद्यान, रङ्गशालाजस्ता नगरपालिकाका नीतिअनुरुप काम गर्न सकिने जनाइएको छ ।
रासस
प्रकाशित मिति: १९ असार २०७३, आईतवार ११:४४