काठमाडौँ । लोकतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्दतिको स्थापनाका लागि स्वर्गीय मङ्गलादेवी सिंहको नेतृत्वमा विसं २००४ साउन २४ मा स्थापना भएको महिला सङ्घको अहिले तेस्रो अधिवेशन हुन लागेको छ ।
सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेका महिला वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई अगाडि बढाउन विसं २००४ मा स्व सिंहको सक्रियतामा चिनियाँलाल श्रेष्ठको घरमा महिला भेला गराई ११ सदस्यीय कार्यसमिति गठन गरिएको थियो।
आगामी महाधिवेशनमा वर्तमान केन्द्रीय समितिका सदस्य लड्न नपाउने व्यवस्था गरिएको छ । यही भदौ २९ गतेदेखि हुने निर्वाचनमा अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित कुल ४२ पदका लागि निर्वाचन हुँदैछ।
बयालिस केन्द्रीय कार्यसमितिमध्ये खुला १५, प्रत्येक प्रदेशमा दुई जनाका दरले १४, जनजाति तीन, दलित तीन, मधेसी तीन र मुस्लिम एक पदका लागि निर्वाचन हुनेछन् । यस्तै, एक उपाध्यक्ष, एक महासचिव र एक सचिवसहित ९ सदस्य मनोनीत गरिने व्यवस्था गरिएको छ।
विसं २००७ को राणा शासनको अन्त्यका लागि भएका सङ्घर्षमा महिला सङ्घको ठूलो भूमिका रहेको छ। विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाएपछि महिला सङ्घ पनि प्रतिबन्धमा पर्यो। विसं २०४६ को आन्दोलनपछि राजनीतिक दलहरु फुकुवा भएपछि महिला सङ्घ पनि फुकुवा भयो।
विसं २००४ मा स्थापना भएको सङ्घको पहिलो राष्ट्रिय अधिवेशन विसं २०५८ असोज १७ देखि १९ सम्म विराटनगरमा सम्पन्न भयो। पहिलो महाधिवेशनले अध्यक्षमा उमा रेग्मीसहित ३२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो।
दोस्रो केन्द्रीय महाधिवेशन २०६४ वैशाख २७ देखि २९ सम्म नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा सम्पन्न भयो र अध्यक्षमा अम्बिका बस्नेत निर्वाचित भएकी थिइन्। महाधिवेशनले ३५ केन्द्रीय कार्यसमितिको पनि चयन गरेको थियो।
दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचित बस्नेतको कार्यसमितिले तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि २०६९ सालमा डा डिला सङ्ग्रौलाको अध्यक्षतामा ४५ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो। सङ्ग्रौलाकै कार्यसमितिले अहिले निर्वाचन गराउन लागेको हो।
महिला संघको स्थापनाकाल देखि नै महिलाको अधिकारका लागि गरिएको आन्दोलनमा सम्लग्न हुँदै आएकी महिला नेतृ मीना पाण्डे तेस्रो महाधिवेशनमा नेतृत्व लिने उच्च मनोवलकासाथ अध्यक्ष लागि मैदानमा उत्रेकी छन् । उनै महिला नेतृ पाण्डेले महिला संघकै निर्वाचनलाई मध्यनजर गरी मंगलबार काठमाडौँमा आयोजना गरिएको एक भेलामा महिला संघको इतिहास सँगै आफुले गरेको संघर्षका बारेमा व्यक्त गरिएको विचारलाई यहाँ संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ ।
लोकतन्त्रकालागि सहादत प्राप्त गर्न पनि तयार रहने र द्वन्द्वकालमा पनि पार्टीलाई बचाएर राख्ने दूर दराजाका दिदी वहिनीलाई नमन गर्न चाहन्छु । नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन आयोजना भइराखेको छ । नेपाली काँग्रेसको इमान्दार कार्यकर्ता र उमेर अनुसारको लगानी मैले गरेकी छु ।
लोकतन्त्रकालागि मैले आफ्नो पुरा उमेर खर्च गरेको छु । मेरो व्यक्तिगत कुनै स्वार्थ छैन । तर मैले गर्नुपर्ने एउटा काम भने अवस्य छ । त्यो हो, यो देशका महिला दिदी, वहिनीलाई छोरा या दाजू–भाई सरह अधिकार दिलाएर समानता कायम गर्ने दृढ संकल्प छ ।
विपी कोइरालाले भनेको जस्तै पार्टीको जरा गाउँ गाउँमा हुन्छ । नेपालको दश वर्षे द्वन्द्वको कालरात्रीमा जराको पनि जरा बचाउने काम महिलाहरुले गरेका हुन् । उक्त कुराको सम्मान मेरो नेतृत्व आयो भने मैले दिलाउने प्रतिवद्धता व्यक्त गर्दछु ।
पार्टी भित्र मेरो आन्तरिक वैचारिक लडाई जारी छ । महिलाहरुलाई पनि पुरुष सरह समान दृष्टिकोणले सहभागि हुने अवसर दिनुपर्छ, भन्ने लडाई राष्ट्रको अगाडि पनि छ र आफ्नै पार्टी नेपाली काँग्रेस भित्र पनि छ । यसमा तपाईंहरु महिला संघका मतदाताको पनि साथ सहयोग पाउँछु भन्ने मेरो विश्वास छ ।
पहिलो महाधिवेशन मेरै कार्यकालमा भएको थियो । वि।सं। २००४ सालमा जन्मिएको महिला संघले राणा शासन ढाल्न र पञ्चायत विरुद्धको आन्दोलनमा उल्लेख्य भूमिका खेल्यो । २०४६ साल पछि महिला संघलाई मंगलादेवीले आफ्नो समय खर्चनु भएको थियो । मलाई अझै पनि याद आउँछ, वीर अस्पतालको मृत्यु शैयामा रहेका बेला पनि मंगलादेवीले भन्नु भएको थियो, मीना यो महिला संघको अधिवेशन जसरी पनि गराउनु छ भनेर ।
मैले मंगलादेवी सिंहसँग थानकोटको एउटा पिक्कनीकमा गएको बेला सदस्यता लिएको हुँ । पञ्चायत विरुद्धको आन्दोलन सबैको एउटै मिसन थियो नेपालमा प्रजातन्त्र स्थापना गर्ने । त्यससँगै आधा आकाश ढाक्ने महिलाहरुको समस्या समाधानका लागि आन्दोलन गर्ने साझा चौतारीका रुपमा महिला संघ स्थापना भएको थियो ।
नेपाल महिला संघको दोस्रो अधिवेशन हुने बेलाको समय प्रतिगमन ढाल्ने विषयमा केन्द्रित रह्यो । त्यसपछि व्यवस्थित महाधिवेशन भएको थियो । प्रतिस्पर्धा आफ्नो ठाउँमा छ । तेस्रो महाधिवेशनको संघामार रहँदा अबका दिनमा महिलाहरु संवैधानिक र राजनीतिक अधिकारका लागि सबै एकजुट भएर लाग्नुपर्छ भन्ने विषय मेरो सरोकार हो ।
मैले उठाएको कुरा नेपाल महिला संघको २००४ साल देखिको पनि सपना हो । छोरीलाई समानताको हक सम्पत्तिमा दिनुपर्छ भनेर मंगलादेवीले २०४२ सालको सत्याग्रहका बेला चाक्सीबारीमा बोलेको कुरा अहिले पनि मलाई याद छ । मैले सुन्दै छु, सम्पत्ति सम्बन्धी कानुनको तर्जुमा संसदमा हुँदै छ रे, त्यसमा ऐच्छिक की के गर्ने भन्ने छरे, ऐच्छिक गर्न पाइदैन । हामीले प्राप्त गरेको समानताको अधिकारलाई कायम राखेर जानुपर्छ । दूर दराजमा बस्ने महिलाहरुको मुहारमा हाँसो ल्याउन यो महिला संघ सक्षम हुन्छ ।
नेपाली काँग्रेसले बनाएका योजना हुन या महिला संघले बनाएका योजनाहरु हुन् ती सबै कार्यान्वयनका लागि मेरो नेतृत्व सक्षम हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु् । संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि पनि मैले पहल गर्ने छु । त्यसैले तपाईहरुले मलाई मत दिनुहुने छ भन्ने मैले विश्वास गरेको छु ।
प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार १५:३०