काठमाडौँ, २६ भदौ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले समयावधि सहित २५ बुँदे निर्देशन दिएका छन् । मन्त्री केसीले मन्त्रालयका सचिवलाई तोकिएको समयभित्र पेश गर्न र कार्यान्वयन गर्न आइतबार २५ बुँदे निर्देशन दिएका हुन् ।
मन्त्री केसीले मन्त्रालयमा वहाली हुदाँ भएको निर्णयानुसार सहरी विकास मन्त्रालयको जिम्मेवारी एवम् कार्यक्षेत्र अन्तर्गत पर्ने आवास व्यवस्था, भवन निर्माण, सहरी विकास, भूकम्प पश्चातको पुनःनिर्माण लगायत नगर विकास समितिहरुको काम–कार्वाहीको सम्वन्धमा समेत सघन रुपमा अनुगमन गरी समयमै समस्याको पहिचान गर्न देखिएका समस्याहरु तत्काल समाधान गर्न र आम जनतालाई गुणस्तरीय र नतिजामुखी रुपमा सेवा प्रवाह गर्न गठन गरिएका टोलीहरुले यथार्थ अनुगमन गरी प्रतिवेदन पेश गर्ने २१ दिनको समय सहित निर्देशन दिएका छन् ।
मन्त्री केसीले राष्ट्रको समग्र सहरी विकासको संरचना, विकास र लगानी संघीय संरचना समेतलाई केन्द्रित गरी राष्ट्रिय सहरी विकास रणनीति तयार गर्ने २५ दिनको समय सहित निर्देशक दिएका छन् । उनले राष्ट्रिय भवन संहिता प्रभावकारी कार्यान्वयनको लागि तत्कालै कार्ययोजना तर्जुमा गर्ने र नेपाल राजपत्रमा प्रकाशित गर्न र तदनुरुप दृढतापूर्वक कार्यान्वयन गर्न कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयसंग सम्वन्धित ऐन, कानुन, कार्यविधि, मापदण्डहरू अध्ययन गरी आवश्यक भए सुधार समेत र कार्यान्वयनको स्थिति विवरण तयार गरी पेश तथा मन्त्रालय र अन्तर्गतका निकायहरूबाट कार्यान्वयन हुने आयोजना र कार्यक्रमहरुको अल्पकालीन ३ महिने, मध्यकालीन २ वर्षे र दीर्घकालीन ५ वर्षे कार्ययोजना तयार गरी पेश गर्न मन्त्री केसीले निर्देशन दिएका छन् ।
मन्त्री कसीले भूकम्प पुनर्निर्माणको हालको प्रगति वा अवस्था र समस्याहरु पहिचान गरी द्रुतगतिमा पुनर्निर्माण अघि बढाउन आवश्यक कार्ययोजना पेश गर्न निर्देशक दिएका छन् । उनले काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौ उपत्यका भित्रका पूर्व, पश्चिम उत्तर र दक्षिणमा विद्यमान हालको अवस्था र त्यसमा ब्यवस्थित सहरी विकास, स्याटेलाइट सिटी निर्माणको अवधारणाको कार्ययोजना पेश गर्न पनि निर्देशक दिएका छन् ।
सहरी विकासमा सार्वजनिक–निजी साझेदारी मोडेलबाट सहरी विकासलाई कसरी अगाडि बढाउन सकिन्छ, आवश्यक नीति तथा अवधारणा प्रस्तुत गर्न र नगर विकासका निमित्त देशका धेरै भागमा प्राधिकरणको अतिआवश्यक भएकोले नगर विकास प्राधिकरणको छाता ऐन मस्यौदा गर्ने कार्य तुरून्त काम थाल्न समेत उनले निर्देशन दिएका छन् ।
मन्त्रालयअन्तर्गत गठन भएका नगर विकास समितिहरुलाई क्रियाशीलताका साथ प्रभावकारी बनाउन र संचालनको न्यूनतम स्रोत साधन पुर्याउन कार्ययोजना बनाउन भनेका छन् । नगरोन्मुख गाउँ विकास समितिहरूको पहिचानका साथ यसलाई नमूना गाउँको रुपमा व्यवस्थित गर्दै गाउँ–सहर योजना बनाउन निर्देशन दिएका छन् ।
प्रकाशित मिति: २६ भाद्र २०७३, आईतवार १८:१०