नुवाकोट, २० कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान जारी गर्न नेपाली काँग्रेसले धेरै ठूलो सङ्घर्ष गरेकाले यसको सफल कार्यान्वयनका लागि पनि काँग्रेसले अहम भूमिका लिएको बताएका छन् ।
नेपाल तरुण दल गाउँ कार्यसमिति थानसिङ नुवाकोटद्वारा आज पार्टी कार्यालय भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले संविधानमा केही असन्तुष्टि जनाइरहेका पक्षको मागलाई पनि सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रक्रिया सुरु भएको जानकारी दिए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री महतले प्रमुख प्रतिपक्षी दलसहितका राजनीतिक दलहरुसँग सरकार र काँग्रेसले संविधान संशोधनका लागि परामर्श सुरु गरेको उल्लेख गरे ।
नेपालको समृद्धि, विकास, संविधान कार्यान्वयनलगायतका विषयमा विदेशी राष्ट्र एवम् दाताहरुको सहयोग रहेको मन्त्री महतले उल्लेख गरे । नेपालको विकास पनि अधिकांश वैदेशिक सहायतामा निर्भर रहेकाले नेपालमा वैदेशिक लगानी र सहयोग भित्र्याउनका लागि आफू लागेको उनको भनाइ थियो ।
विदेश नीति जस्तो संवेदनशील विषयलाई राजनीतिक माध्यम बनाउने गरेकाले नेपालको कूटनीति कमजोर हुन पुगेको भन्दै आफूले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताका पक्षमा छिमेकी भारतलगायत विभिन्न देशमा कुरा गरेको मन्त्री महतले स्पष्ट पारे ।
नेपालले आफ्नो कूटनीतिक एवम् वैदेशिक नीतिलाई बलियो बनाउँदै राष्ट्रिय समृद्धि सम्भव छ भन्ने हेतुले वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री महतले भारतीय राष्ट्रपतिको हालै भएको नेपाल भ्रमण एउटा उदाहरण भएकाे बताए । उनले भारतीय राष्ट्रपतिको भ्रमण सफल भएको र चिनियाँ राष्ट्रपतिको पनि चाँडै नै नेपाल भ्रमण हुने जानकारी दिए ।
मन्त्री डा महतले आफ्नो क्षेत्रको विकासका लागि प्राप्त बजेटको सदुपयोग भए नभएको निगरानी गर्न जनता नै जागरुक र सजग हुनुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा तरुण दल थानसिङ गाउँ कार्यसमितिका अध्यक्ष निर्भिक पाठक, काँग्रेसका जिल्ला नेताहरु रमेश महत, अर्जुनप्रसाद न्यौपाने, उत्तम पाठकलगायतका वक्ताले बोलेका थिए । सो अवसरमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको थियो । रासस