काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको संरचना सहज र उपयुक्त हुन आवश्यक भएको बताएका छन् । नेता पौडेलले स्थानीय निकाय पुनर्संरचनाको मापदण्ड व्यवहार नभएको समेत दावी गरे । उनले भने, ‘जिल्ला नै समाप्त पार्ने गरी तयार गरिएको स्थानीय निकाय पुनर्संरचनाको मापदण्डले समस्या पैदा गर्छ ।’
संविधान दिवसका अवसरमा नेपाली काँग्रेस सल्यान–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको अन्रक्रिया कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु चुनौतीको रुपमा रहेको बताए । उनले तराईको जनताको हितमा केन्द्रित भएर समस्याको समाधान खोजे निकास निक्लन सक्ने भएकाले खुलेर बहस गर्न जुरुरी भएको उल्लेख गरे ।
काँग्रेस पार्टीमा निष्ठाको राजनीति अल्पमतमा पर्ने र पैसाको राजनीतिले जित्ने अवस्था आएको बताउँदै नेता पौडेलले काँग्रेसलाई निष्ठाको पार्टी बनाउन आम नेता तथा कार्यकर्तालाई आव्हान गरे ।
कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले संघीय संरचना तयार गर्दा कर्णाली पारी गएको पुरानो राप्ती, भेरी र कर्णालीलाई शिर्ष नेतृत्वको सहयोग र जनताको आन्दोलनको वलमा छैठौ प्रदेश बनाउन सफल भएको बताए । उनले जनताको त्याग र नेतृत्वको जोडमा स्थापना गर्न सफल भएको छैठौ प्रदेश प्राकृतिक स्रोत र साधनलाई उपयोग गरेर नमूनाको रुपमा विकास गरिने उद्घोष समेत गरे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका थानीले छैठौ प्रदेशमा रहेको रुकुमलाई टुक्राउन नहुने बताए । उनले भने, ‘अब विभाजनको रुकुम होइन, पुरै रुकुमलाई छैठौ प्रदेशमा राखिनु पर्छ ।’
मन्त्री थानीले छैठौ प्रदेश दक्षिणसँग सीमा नजोडिएपनि नदी, जडिबुटी र पर्यटनका हिसाबले समृद्ध भएको हुनाले विकासका प्रसस्त सम्भावना रहेको दावी गरे । उनले भने, ‘यी साधन स्रोतको विकासले नै छैठौ नम्बर प्रदेश इनेगिनेको प्रदेशको रुपमा विकास गर्न सकिन्छ ।’
अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य एवं सिंचाइ मन्त्री दीपक गिरीले पदमा रहेर पार्टीले दिएको जिम्मेवारी इदान्दारीकासाथ निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री जीवनबहादुर शाहीले कुरा गर्ने नभइ काम गरेर देखाउने आफ्नो योजना रहेको बताए ।
कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्री थानी, सिंचाइ मन्त्री गिरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री शाही लगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
नोपली काँग्रेस सल्यान–काठमाडौँ सम्पर्क समितिका सअभापति समिर शाहको सभापतित्वमा भएको उक्त कार्यक्रममा सांसद् मिठ्ठु मल्ल, नोपली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्द लगायतले संविधान कार्यानवयनमा काँग्रेसले नेतृत्व लिनु पर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार १८:२३