धन-ऐश्वर्य खोजीमा गर्छन् जो जनले छल
हो सारा भ्रमको खेती तृष्णा अज्ञानको फल
नबुझ्ने लोक यो छिट्टै आत्तिन्छन् बबुरा बनी
जसले बुझ्दछन् लोक मात्तिन्नन् सुखमा पनि
खबटाभित्र खुम्च्याई राखेझैँ देह कूर्मले
मन इन्द्रियका घोडा सम्हाल्छन् स्थितप्रज्ञले
तेरो मेरो सधैंको यो छौँ हामी दौडमा रिले
अलकत्रा नि छाडिन्न खाइदिन्छौं त्यसै मिले
चाहे कर्म गरी राम्रा सुधारोस् थिति लोकको
एकै गल्ती भए हुन्छ लोकलाज मनुष्यको
बनायो महिनौँ लाई भत्कायो छिनमै घर
मान्छेको मति बिग्रेमा हुन्न इज्जतको डर
मिले सङ्गत राम्राको निजकै मान बढ्दछ
फूलमा रहने कीट देवता- धाम पुग्दछ
माछाले कमिला खान्छन् पानीमा बस्दछन् जब
मरेमा कमिला खान्छन् माछालाई मिली सब
नाडीमा सुनकै बाँधोस् मान्छेले नचिने घडी
मौका गुम्दा उही रुन्छ घडीको दोषमा बढी
जसरी बिरलै जुट्छ ऐना आदि सिसा फुटे
जिन्दगी सपना जस्तो सिद्धिन्छन् सपना उठे
प्रकाशित मिति: १० मंसिर २०७६, मंगलवार १३:०१