काठमाडौं, १५ कात्तिक । नेपालमा दुई दर्जन बढी मुलुकहरुबाट मदिरा आयात हुने गर्छ । यसबाट वर्षेनी १८ अर्बभन्दा बढी रकम विदेशिने गरेको छ । मदिराको आयात बढिरहेकै बेला स्वदेशी मदिरा उद्योगीहरुले आयात रोक्ने लक्ष्यसहित पूर्णतया स्वदेशी लगानीमा नेपालमै मदिरा उद्योगहरु खोल्न थालेका छन् ।
भारतबाट मात्रै १ करोड ७ लाख लिटर मदिरा नेपाल भित्रिएको तथ्यांक छ । त्यसबाहेक बेलायत, अष्ट्रेलिया, फ्रान्स, इटली, अमेरिका, बेल्जियम, चीनलगायत राष्ट्रबाट नेपालमा मदिरा आयात हुने गर्दछ ।
गत आर्थिक वर्षमात्रै १८ अर्ब ३० करोड रुपैयाँ बराबरको १ करोड २४ लाख लिटर परिमाणमा मदिरा आयात भएको उद्योग विभागको तथ्यांक छ । यो परिमाण विदेशिएकाले कोसेलीस्वरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ल्याउने मदिरा बाहेक हो ।
१० मदिरा उद्योग सञ्चालनको तयारी
गत आर्थिक वर्षमात्र १० वटा उद्योगहरु १ अर्ब ३९ करोड लगानीको प्रस्ताव गर्दै वार्षिक ५ करोड ३० लाख लिटर मदिरा उत्पादनको लक्ष्य राखेर उद्योग विभागमा दर्ता भएका छन् । ती उद्योगहरु चालु आर्थिक वर्षभित्रै सञ्चालनमा आउने तयारीमा छन् । सञ्चालनमा आएलगत्तै १० वटा मदिरा उद्योगबाट नेपाली बजारमा वार्षिक थप ५ करोड ३० लाख लिटर मदिरा थपिने छ ।
पूर्णरुपमा स्वदेशी लगानीमा स्थापना हुन लागेका १० वटा मदिरा उद्योग यही वर्ष सञ्चालनमा आउने उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।
‘पूर्वदेखि सुदूरपश्चिमका बिभिन्न जिल्लामा स्थापना गर्ने अनुमति पाएका मदिरा उद्योगहरुले पूर्वाधार निर्माणको काम सुरु गरिसकेको र कतिपय उद्योगहरु उत्पादन नै सुरु गर्ने अन्तिम तयारीमा रहेको जानकारीमा आएको छ,’ उद्योग विभागका महानिर्देशक न्यौपानेले अनलाइनखबरसँग भने, ‘लाइसेन्स तीन वर्षको हुन्छ, लाइसेन्स पाएको एक वर्षमै उत्पादन बजारमा ल्याउनुपर्ने हुन्छ ।’
कुन उद्योग कहाँ ?
अधिकांश मदिरा उद्योगहरु तराईका जिल्लामा स्थापना हुनेछन् । जसमध्ये सबैभन्दा बढी मदिरा उद्योगहरु नवलपरासी जिल्लामा हुनेछन् ।
नवलपरासीमा खुल्न लागेको सागर डिस्टिलरीले वार्षिक ५० लाख १० हजार लिटर मदिरा उत्पादन गर्ने गरी अनुमति पाएको छ ।
नवलपरासी जिल्लामै मदिरा उद्योग सञ्चालन गरी मदिरा उत्पादन गर्न अरुणा डिस्टिलरीले पनि अनुमति पाएको छ । यो उद्योगले वार्षिक ४ लाख ५० हजार लिटर उच्च ग्रेडको मदिरा उत्पादन गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै गण्डकी लिकर्स प्रालि उद्योगले वार्षिक ८ लाख ३५ हजार लिटर मिश्रित मदिरा उत्पादन गर्ने बताएको छ ।
यसैगरी रौतहटमा सञ्चालन हुने सुधा डिस्टिलरीले वार्षिक २५ लाख लिटर मिश्रितका अतिरिक्त प्राकृतिक मदिरा ५० किलोलिटर र रेक्टिफाइड स्प्रिट ५ सय किलोलिटर उत्पादन गर्नेगरी अनुमति पाएको छ ।
विभागकै अनुसार सर्लाहीमा स्थापना हुन लागेको अभिनव डिस्टिलरीले वार्षिक ६० लाख लिटर मिश्रित मदिरा उत्पादन गर्ने छ ।
काभ्रे जिल्लामा बन्न लागेको शिखर लिकर्स एन्ड डिस्टिलरीले वार्षिक २६ लाख लिटर मदिरा उत्पादन गर्ने गरी इजाजत पाएको विभागले जनाएको छ ।
तनहुँको आँबुखैरेनीमा खुल्न लागेको सुर्य ब्लेन्डर्स प्रालिले वार्षिक १९ लाख ५० हजार बोतल मदिरा उत्पादन गर्ने गरी विभागबाट स्वीकृति लिएको छ ।
यसैगरी झापा जिल्लामा पनि मनास्लु डिस्टिलरी खुल्ने भएको छ । मनास्लुले वार्षिक ३ सय किलोलिटर अतिरिक्त प्राकृतिक मदिरा, रेक्टिफाइड स्प्रिट ३ सय किलोलिटर र मिश्रित मदिरा १५ लाख लिटर उत्पादन गर्ने तयारी थालेको छ ।
महोत्तरी जिल्लामा स्थापना नटराज स्प्रिट इण्डष्ट्रिज प्रालिले १० लाख मिश्रित मदिरा उत्पादन गर्नेगरी काम अगाडि बढाएको छ ।
सुदूरपश्चिममा खुल्न लागेको फार बेष्ट लिकर्स प्रालिले वार्षिक ८३ लाख ५० हजार मिश्रित मदिरा उत्पादन गर्ने लक्ष्यसहित अनुमति पाएको विभागले जनाएको छ ।
प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहीबार ०९:३६