मुगु । चालु आर्थिक वर्षका लागि विनियोजित खर्च हुन नसकेको रकमबाट जिल्लामा पीसीआर मेसिन खरिद गरिने भएको छ । संघीय सांसद स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका चार वटै स्थानीय तहमा चालु आर्थिक वर्षमा विनियोजन भई खर्च हुन नसकेको रकमबाट मुगु जिल्ला मै कोरोना परीक्षण गर्न पीसीआर मेशिन खरिद गर्ने निर्णय भएको हो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७६ को तेस्रो संशोधन नियमावलीमा भएको संशोधन बमोजिम जिल्लामा रहेका पालिकाहरुले साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित भएको रकम मध्ये खर्च हुन नसकी बचत हुन आएको रकम चालु आर्थिक वर्षको असार १५ सम्म सम्वन्धित पालिको कोडिभ १९ को व्यवस्थापनका लागि खोलिएको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने र सो रकम कोभिड १९ रोकथाम, नियन्त्रण, निदान र उपचारमा मात्र खर्च गर्नु भन्ने २०७७ असार ३ गतेको मन्त्रीपरिषद्बाट कार्यविधि संशोधित भै पत्रचार भएकाले सोही रकमबाट जिल्ला पीसीआर मेशिन खरिद गर्ने निर्णय भएको हो ।
कार्यक्रमका निर्देशक समितिका संयोजक एवं मुगु जिल्लाबाट संघीय संसदका लागि निर्वाचित सांसद गोपाल बहादुर बमको संयोकत्व र समन्वय प्रमुख पूर्ण बहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला, प्रहरी नायव उपरीक्षक भुवनेश्वर साह, उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढा, रेडक्रस सभापति जय बहादुर मल्ल, जिल्ला अस्पताल प्रमुख डाक्टर निर्मल नगरकोटी, नेपाली काँगे्रस मुगु जिल्ला सभापति खड्क बहादुर शाही, नेकपा प्रतिनिधि मंगल बहादुर शाही सहितको आइतबार बसेको बैठकले स्थानीय तहहरुमा बचेको रकमबाट कोरोना परीक्षण पीसीआर मेशिन, एम्वुलेन्स, भिटिएम किट, व्यवस्थापन खर्च व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी भिम सेजुवालले बताउनु भयो ।
शनिबार बसेको काँगे्रस र नेकपा पार्टीको संयुक्त बैठकमा काँग्रेस सभापति खड्क बहादुर शाहीले जिल्ला मै पीसीआर मेशिन खरिद गर्नु पर्ने सुझाव दिएपछि नेकपाका नेताहरुले यो निर्णयमा सहमति जनाउँदै स्रोत खोज्न लाग्ने र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट बचेको रकमबाट खरिद गर्न संयोजन समितिका संयोजक गोपाल बहादुर बमलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सांसद बमलाई आग्रह गर्दा सहमत भै पीसीआर मेशिन तथा अन्य सामग्रीहरु खरिद गर्ने निर्णय भएको नेपाली काँग्रेस मुगुका सभापति खड्क बहादुर शाहीले बताउनु भयो ।
सांसद बमका अनुसार यो वर्ष जिल्लामा रहेका चार वटा स्थानीय तहहरुबाट १ करोड ८४ लाख ७२ हजार २ सय रुपैयाँ खर्च हुन नसकी बचत भएको छ । जसमा छायाँनाथ रारा नगरपालिकामा ६० लाख ७२ हजार २००, मुगुम् कार्मारोङ्ग गाउँपालिकामा ६० लाख, खत्याड गाउँपालिकामा ४९ लाख र सोरु गाउँपालिकामा १५ लाख खर्च हुन नसकी बचत छ ।
कोरोना भाइरसले विश्व आक्रान्त भै नेपाल पनि अछुतो नरहेको बेला जिल्लामा संकलन हुन स्वाव परीक्षण गर्न २/३ दिन लगाएर जुम्ला, सुर्खेत लिनु पर्ने र त्यहाँ पनि पालोमा बस्नु पर्ने भएकाले जनता त्रासमा बस्नुपर्ने बाध्यता नहोस् भनेर जिल्ला मै पीसीआर मेशिन खरिदका लागि आफुले सहमति दिएको सांसद बमले बताउनु भयो ।
निर्णय अनुसार चारवटै स्थानीय तहहरुले आफ्ना प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको यो कार्यक्रमको रकम छायाँनाथ रारा नगरपालिकाको प्रकोप कोषमा जम्मा गर्ने र नगरपालिकाले पिसिआर मेशिन खरिदका लागि छोटो बाटोबाट सूचना प्रकाशित गरि पीसीआर मेशिन खरिद गरेर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गर्ने भएको छ ।
पीसीआर मेशिन खरिद गर्न १ करोड ३० लाख, ३ एम्बुलेन्स खरिद गर्न ३६ लाख, भिटिएम किट खरिद गर्न ६ लाख, प्राविधिक खर्च ६ लाख ७२ हजार २ सय र स्वास्थ्य उपकरण रातापानी स्वास्थ्य केन्द्रका लागि ६ लाख छुटाईएको छ ।
जिल्लामा पीसीआर मेशिन आएमा मुगु जिल्लाका अलावा बाजुरा र हुम्ला जिल्लाका केही स्थानीय तहहरुलाई पनि कोरोना परीक्षण गर्न सहज हुनेछ ।
प्रकाशित मिति: १८ असार २०७७, बिहीबार १२:३८