काठमाडौँ, ६ असार । व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमाथिको छलफल साेमबार देखि प्रारम्भ भएको छ ।
साेमबारको बैठकमा वाणिज्य, विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, सामान्य प्रशासन र पशुपक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सुरु भएको छ ।
सदनको दोस्रो बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले मुलुकको महत्वपूर्ण धरोहरका रुपमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक बजेट विनियोजन नभएकामा सरकारको आलोचना गर्दै खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
सोही पार्टीका सांसद अनुराधा थापामगरले विनियोजन विधेयक, २०७३ अन्तर्गत जनसङ्ख्या तथा वातावरण, सिँचाइ, आपूर्ति र पशुपक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
तराईमा बढिरहेको जनसङ्ख्या र बसोबासको चापले सुरक्षा र वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको बताउँदै उनले अत्यावश्यक खाद्यपदार्थ बिक्री वितरणमा समेत मिसावट व्याप्त रहेकामा चिन्ता व्यक्त गरे ।
प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा रामशरण महतले पर्यटन अत्यन्त सम्भावना भएको तुलनात्मक लाभको क्षेत्र भए पनि युरोपेली समुदायबाट नेपालको हवाई क्षेत्रका बारेमा लामो समयदेखि प्रश्न उठिरहनु लज्जाको विषय हो भने ।
अघिल्लो सरकारले घोषणा गरेको ‘हाम्रो धरोहर हाम्रो दायित्व’ कार्यक्रमलाई समाप्त पार्न खोजिएको हो कि भन्ने प्रश्न गर्दै उनले अघिल्लो सरकारले ल्याएका कार्यक्रमलाई हटाइएकामा आपत्ति जनाए ।
वैदेशिक व्यापार घाटा बढिरहेको तथ्याङ्क प्रस्तुत गर्दै डा महतले वार्षिक आयात करिब सात खर्ब रहेको तर, निर्यात एक अर्ब पनि नपुगेको उल्लेख गरे । उनले वैदेशिक व्यापार घाटालाई पूर्ति गर्ने विप्रेषण पनि घटेकाले त्यसतर्फ सरकारको ध्यान जान जरुरी भएको बताए ।
कर्मचारी व्यवस्थापनमा राजनीतिकरण भएको आरोप लगाउँदै उनले भने – “प्रशासनिक स्थिरता पनि भएन भने सेवा प्रवाह चुस्त बन्न सक्दैन ।”
नेकपा एमालेका सांसद डा राजन भट्टराईले बजेटको प्रभावकारी कार्यान्वयन भएमा त्यसले मुलुकले चाहेको आर्थिक विकासको उद्देश्य प्राप्त विश्वास व्यक्त गरे । सरकारले बजेट कार्यान्वयनमा केही तदारुकता देखाउनुपर्ने बताउँदै उनले विप्रेषणमा कमी आउन नदिनेतर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।
विश्व सम्पदा सूचीमा रहेका सम्पदा हेर्न नै विदेशी पर्यटक नेपाल आउने भएकाले त्यस्ता पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको धारणा थियो ।
नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले मुलुकमा निर्यात बढेकोतर्फ सङ्केत गर्दै राम्रा र पढेलेखेका युवाको विदेश पलायन रोक्न वाणिज्य नीति निष्प्रभावी रहेको बताए ।
सांसद भक्तबहादुर विश्वकर्मा खपाङ्गीले सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
सांसद डा सुबोधकुमार पोखरेलले सांसद विकास कोषबाट युक्तिसङ्गत रुपमा खर्च हुन नसकेको प्रसङ्ग उठाए । रासस