नयाँ दिल्ली ३० भदौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विहीवार भारतको तीन दिने राजकीय भ्रमणमा आउँदैछन् । भारतीय विदेशमन्त्रालयले प्रधानमन्त्रीको राजकीय भ्रमणको विस्तृत तालिका बुधबार सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड विहीवार दिउँसो १२ः३० बजे इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको सेरेमोनियल लन्जमा आइपुग्नेछन् । उनलाई भारत सरकारका अधिकारीले स्वागत गर्नेछन् ।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा विदेशमन्त्री सुष्मा स्वराज विमानस्थल गएकी थिइन् भने यसपटक पनि उनले स्वागत गर्ने अनुमान गरिएको छ । विदेश मन्त्रालयको कार्यक्रम अनुसार प्रधानमन्त्रीको सम्मानमा शुक्रवार विहान ९ बजे राष्ट्रपति भवनमा भारतीय सेनाले गार्ड अफ अनर दिनेछ । प्रधानमन्त्री प्रचण्ड ९ः३० बजे महात्मा गान्धीको समाधिस्थलमा गएर बत्ति बाल्ने कार्यक्रम छ ।
१०ः३० बजे प्रधानमन्त्रीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमै गएर शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग विहान ११ः३० बजे औपचारिक वार्ता गर्ने कार्यक्रम छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा मोदीसँग एक्लाएक्लै पनि कुराकानी गर्नेछन् भने प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि हुनेछ ।
सम्झौताहरुको आदानप्रदान र पत्रकार सम्मेलन पनि हुने कार्यक्रम छ । शुक्रवार साँझ ४ बजे भारतका अर्थमन्त्री अरुण जेट्लीले राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नेछन् । ऊर्जा, बिजुली तथा कोइला राज्यमन्त्री पियुष गोयलले साँढे ४ बजे प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति प्रणब मुखर्जीसँग भेटवार्ता गर्नेछन् । सोही साँझ साँझ ७ः१५ बजे ताज महल होटलमा संयुक्त व्यापारिक कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् । आइतवार प्रधानमन्त्री प्रचण्ड विहान ८ः४० बजे हिमाञ्चलस्थित नाथाप झाक्री जलविद्युत परियोजना अबलोकनका लागि जानेछन् ।
उनी साँझ ३ः१५ बजे दिल्ली फर्किनेछन् । दुईवटा हेलिकोप्टरमा १४ जना प्रतिनिधिमण्डललाई हिमाञ्चल जाने व्यवस्था मिलाइएको छ । आइतवारसाँझ ६ बजे गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड सोमवार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: ३० भाद्र २०७३, बिहीबार ०६:५४