बैतडी, २३ भदौ । बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । गत सालदेखि नै औषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।
सरकारले स्वास्थ्यचौकीबाट ४० प्रकारको औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० प्रकारको औषधि र जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क दिने नीति लिएको भएपनि स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । जिल्लाभरिका स्वास्थ्य संस्थाले सिटामोलसमेत मागअनुसार आपूर्ति हुन नसकेको बताएका छन् ।
पछिल्लो समयमा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको र स्वास्थ्य संस्थामा औषधि नहुँदा उपचारमै समस्या भएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले जानकारी दिए । उनले भने, “स्वास्थ्यचौकीमा टाइफाइडका बिरामी बढेपनि औषधि नहुँदा उपचारमा निकै समस्या भएको छ ।”
जिल्ला स्वास्थ्य कार्यालयबाट माग अनुसारको औषधि आपूर्ति नहुँदा नागरिकलाई सास्ती भएको बताइएको छ । सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पेमा गएको एक महिनायता आइरन चक्कीसमेत सकिएको छ । गर्भवती महिलालाई निःशुल्क रुपमा वितरण गरिने आइरन चक्की स्वास्थ्य संस्थामा कति पनि नभएको स्वास्थ्यचौकीका इन्चार्ज मदन महराले बताए । स्वास्थ्य संस्थामा औषधि नहुँदा निःशुल्क पाइने औषधिसमेत सेवाग्राहीलाई किन्न लगाउनुपर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका डा शशी कँडेलले बताए ।
शर्माली स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश चन्दका अनुसार स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामीलाई औषधि दिन सकिएको छैन । उनले भने, “ग्रामीण क्षेत्रमा नजिक मेडिकलसमेत नहुँदा नागरिक सामान्य औषधिको अभावमा समस्या झेलिरहेका छन् ।” जिल्लाभरि औषधिको अभाव भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका आरआरटी फोकलपर्सन सन्तोष पाण्डेयले मागअनुसार औषधि आपूर्ति नभएको स्वीकार गरे ।
उनले भने, “गत सालदेखि नै आपूर्ति व्यवस्थामा समस्या आएकाले मागअनुसार औषधि पूर्ति नभएको हो ।” जिल्ला स्वास्थ्य कार्यालयले टेन्डर आह्वान गरेर औषधि खरिद प्रक्रिया अगाडि बढाएपनि अझै दुई महिनाजति लाग्ने बताइएको छ । औषधिको बढी अभाव भएका स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्यको स्टोरबाट केही औषधि पठाउने तयारी भइरहेको पाण्डेयले बताए ।
असी प्रतिशत भाइरल ज्वरोका बिरामी
बैतडीमा भाइरल ज्वरो तथा टाइफाइडका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो एक महिनायता जिल्लाभरि भाइरल ज्वरो तथा टाइफाइडका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल बैतडीका डा निरज आचार्यले जानकारी दिए । “उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीमध्ये ८० प्रतिशतमा भाइरल ज्वरो तथा टाइफाइडको सङ्क्रमण देखिने गरेको छ”, उनले भने, “बेडमा भर्ना भएका बिरामीमध्ये पनि धेरैजसो ज्वरोकै छन् ।”
यस्तै, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा आउने अधिकांश बिरामीमा भाइरल ज्वरो तथा टाइफाइडको सङ्क्रमण देखापरेको डा शशी कँडेलले बताए । उपचारका लागि आउने धेरै बिरामी ज्वरोकै भएको उनले बताए । जिल्लाका धेरैजसो गाविसमा भाइरल ज्वरोले प्रकोपको रुप लिएको बताइएको छ । श्रीकोट, शङ्करपुर, रौलेश्वर, शिखरपुरलगायत गाविसमा भाइरल ज्वरोबाट बालबालिका बढी प्रभावित भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोकै भएको जानकारी दिए । पुरचौँडी क्षेत्रमा पनि ज्वरोका बिरामी बढेको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले जानकारी दिए । स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरैजसो ज्वरोकै भएको उनको पनि भनाइ छ ।
यस्तै, तल्लोस्वोराड क्षेत्रमा पनि ज्वरोका बिरामी बढेको त्यो क्षेत्रका स्वास्थ्य संस्थाले जनाएका छन् । उता च्वाँगढ क्षेत्रमा पनि बालबालिका ज्वरोबाट प्रभावित भएको गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज जनक धामीले जानकारी दिए । मौसममा आएको परिवर्तनले भाइरल ज्वरो देखापरे पनि टाइफाइड भने दूषित पानीका कारण हुने गरेको डा शशी कँडेलले बताए । टाइफाइड भएका बिरामीले एन्टिबायोटिक औषधि खानैपर्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।
भाइरल ज्वरो समान्यतया एक हप्तामा आफैँ निको हुने भएपनि बिरामीले आराम गर्नुपर्ने र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने, पानी उमालेर मात्र पिउने गरेमा भाइरल ज्वरोबाट बच्न सकिने डा कँडेलको भनाइ छ । बर्सातको समयमा पानीका मुहान दूषित हुने र दूषित पानीकै सेवनबाट धेरै रोग लाग्ने गरेको उनले बताए । रासस