सुर्खेत । बजेट सक्नकै लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा असारे विकास निर्माणका कामहरु वर्षायाम सुरु भएसँगै धमाधम सुरु भईरहेका छन् । आर्थिक वर्ष सकिन केही हप्ता दिनमात्रै बाँकी रहदा रातदिन असारे विकास निर्माणले निकै तीब्रता पाएको छ ।
करिव ७० लाखको बजेटमा बजार क्षेत्रभित्रका साना करिव आधा दर्जन जीर्ण सडकहरु टालटुल पार्न लागिएको छ ।
नगरभित्रका केही वडाहरुमा केही नभएको सडकको पिचमाथि पुनः अर्को पिच गरिएको छभने कहीं झरी पर्दापनि पानीमा रुझेर पिच गरिएको छ ।
सुर्खेत जुम्ला सडकको भुवनेश्वरी आयल स्टोरदेखि जेपी स्कुल रोडसम्मको सडक पुनः कालोपत्रे गरिएको छ । जेपी स्कुल सम्मको करिव ३०० मिटर सडक अझैपनि जस्ताको तस्तै छ । कुनै ठाउँमा विग्रे भत्केको छैन । त्यही नजिकको आयुर्वेद औषधालय जोड्ने सडकभने जीर्ण छ । तर नजिकैको पिचमाथि अर्को पिच गरेर बजेट सिध्याइएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को जेपी स्कुल रोड कालोपत्रे भएको करिव तीन बर्ष भयो । उक्त सडक अहिलेसम्म जस्ताको तस्तै छ । केहीपनि बिग्रे भत्केको छैन । तर त्यही सडकमा पुनः पिच गरिएको छ ।
वडा नं. ४ बासिन्दा केही नभएको सडकमा पुनः पिच गर्नुभन्दा बरु अर्को विग्रेको सडकमा मर्मत गर्न आग्रह गर्दापनि वडापालिकाले नटेरेको बताउँछन् । पहुँच र पावरको भरमा केही नभएको सडकमा पुनः कालोपत्रे गरिएको भन्दै वडाबासी टुलटुल हेरेर बस्न बाध्य भएका छन् ।
यसैगरी वीरेन्द्रनगर बजार क्षेत्रभित्रका भित्री जीर्ण सडकहरु पनि धमाधम टालटुल पारिएको छ । झरी पर्दापनि रुझेर कालोपत्रे गरिएको छ । लक्ष्मी चलचित्र हुँदै हटिया जोड्ने करिव २०० मिटर सडक झरीमा रुझेर कालोपत्रे गरिएको थियो । पानीमा पनि कालोपत्रे गर्न लागेपछि स्थानीयहरुले आक्रोश पोखेर काम रोक्न पुगेका थिए । स्थानीय पदमबहादुर शाहीले पानीमा रुझेर कालोपत्रे नगर्न माग गर्दा नटेरेपछि अरु स्थानीय लागेर काम रोक्नुभएको थियो । पानीमा कालोपर्ने गर्नुको कुनै अर्थ नभएको उहाँ बताउनुहुन्छ । जीर्ण भएको सडक झरीमा पुनः टालटुल गर्दा अर्को बर्ष फेरि उस्तै हुने भन्दै उहाँले असारे विकास दिगो नभएको जनाउनुभयो ।
यता वीरेन्द्रनगर नगरपालिकाले अहिले नगरभित्रका केही सडकहरु मर्मत गर्ने काम भइरहेको जनाएको छ । नगरपालिकाको अनुगमन समितिका सदस्य मोतीप्रसाद कँडेलले अनुगमनका क्रममा कुनै ठाउँमा अस्वभाविक भएको पाइएको बताउनुहुन्छ । वडा नं. ४ को केही नबिग्रेको सडकमा पुनः कालोपत्रे गर्न आवश्यकता नभएको भन्दै उहाँले बरु अर्को विग्रेको सडक मर्मत हुनसक्ने जनाउनुभयो । उहाँले सडक अनुगमन गर्दा केही भएको पाएपछि त्यहाँबाट वीरेन्द्रनगर बजार क्षेत्रका साना जीर्ण सडक मर्मत गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।
उता नगरभित्रका ठूला सडकहरुको अवस्था भने दयनीय छ । सामाजिक विकास मन्त्रालय जाने सडक, बसपार्क जाने सडक, प्रदेश अस्पताल जाने सडक, प्रदेश मन्त्रालय जाने सडक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय जाने सडक, जिल्ला प्रहरी कार्यालय जाने सडकहरु भत्केर ग्राभेलजस्तै भएका छन् । प्रदेश सरकारले मर्मत गर्ने भनिएपनि अहिलेसम्म कुनै प्रगति हुनसकेको छैन । विमानस्थल जोड्ने सडकको काम निर्माणाधीन भएपनि काम सकिएको छैन । सडकभरी भएका खाल्डाखुल्डीले बर्षा याममा पानी भरिँदा जलमग्न हुने गरेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारले सवैभन्दा पहिला सडक सुधार गर्नुपर्ने आवाज नागरिकले उठाएपनि सुनुवाई हुनसकेको छैन ।
प्रकाशित मिति: १७ असार २०७६, मंगलवार १३:४४