सिन्धुली, २१ भदौ । कमलामाई नगरपालिकाभित्र पर्ने माढीबजारमा १८ वटा सौर्य बत्ती जडान गरिएको छ ।
नगरपालिकालाई वातावरणमैत्री बनाउने अभियानमा सौर्य बत्ती जडान गरिएको हो ।
स्थानीय उपभोक्ताको २० प्रतिशत लगानीसहित रु १६ लाख ७४ हजारको लागतमा ती सौर्य बत्ती जडान गरिएको कमलामाई नगरपालिका कार्यालयका सूचना प्रमुख विनोदबाबु खकुरालले जानकारी दिए । उनका अनुसार माडी बजारको स्टलबजार १ र २ नम्बर बजारमा वातावरणमैत्री स्थानीय शासन कार्याक्रमअन्तर्गत नगर क्षेत्रमा १८ वटा सौर्य बत्ती जडान गरिएको हो ।
उनले भने – “हाल बजारका मुख्य भागमा सौर्य बत्ती जडान गरिएको र अभियानलाई निरन्तरता दिँदै बजारका सबै सडकमा सौर्य बत्ती जडान गरेर विद्युतीय बत्ती विस्थापित गर्ने रणनीति रहेको छ ।”
नगरपालिकाले गरेको उक्त कामप्रति स्थानीय राजनीतिक दलहरु भने एकमत हुन सकेका छैनन् । सौर्य बत्ती जडान गर्ने काम राम्रो भए पनि जडान गरिएको बत्ती गुणस्तरीय नभएको गुनासो आइरहेको उल्लेख गर्दै नेपाली काँग्रेसका नेता उपेन्द्र पोखरेल बताउछन – “सौर्य यसमा आर्थिक चलखेल हुन सक्छ यसको स्थानीयस्तरबाट नै छानबिन हुनुपर्छ।”
सो विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को भने समान धारणा छ । रातको समयमा सडक सुरक्षका लागि सडक बत्ती अति आवश्यक भएको भन्दै नेकपा (एमाले)का नेता विनोद खड्काले सडक बत्तीको सङ्ख्यामा वृद्धि गर्नुपर्ने बताए । गुणस्तर परीक्षण हुन केही समय लाग्ने भन्दै उनले अहिले सय मिटरको दूरीमा बत्ती राखिएकामा उज्यालोको क्षमता हेरेर त्यसको दूरी घटाउन सुझाव दिए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता ज्वालाप्रसाद न्यौपानेले गुणस्तरीयता छानबिन गर्ने काम प्राविधिकको भएको भन्दै नगरवासीका लागि सौर्य बत्ती जडान हुनु गौरवको विषय भएको धारणा व्यक्त गरे । यसले नगरवासीलाई थप सुरक्षित बनाएको उनको भनाइ छ ।
सो विवादका सम्बन्धमा राम्रो कामलाई सहयोग गर्ने बानीको विकास गर्न कार्यालयका प्रमुख जगतप्रसाद भुसालले आग्रह गरे ।
प्राविधिक परीक्षण नगरी हचुवाको भरमा गुणस्तरहीन भन्नु विषयान्तर गरेर राम्रो कामलाई ओझेलमा पार्ने खेल मात्रै भएको भुसालको आरोप छ । रासस