चितवन, ४ असोज । काठमाडौँको वीर अस्पतालमा उपचाररत गोरखा फुजेलकी गंगामाया अधिकारीले आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या परिवारिक इबीले गरेको बताएकी छनन् । अस्पतालमा चितवन जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले गंगामायासँग बकपत्र गरी मंगलबार अदालतमा पेस गरेको बकपत्र सहितको मिसिलमा सो कुरा उल्लेख छ ।
बकपत्रमा गंगामायाले रुद्र आचार्यबाहेकका अन्य प्रतिवादीहरु गाउँछिमेकका मानिस भएको उल्लेख गरेकी छन् । उनले भनेकि छन्, ‘देखेचिनेकै व्यक्ति हुन्, त्यति ठूलो इबी त कसैसँग पनि होइन, मेरी माइली देवरानी प्रतिवादीमध्येकी सीता अधिकारीको अंश लगाउन जाँदा निज अधिकारीका मामा प्रतिवादी छविलाल पौडेल, कालीप्रसाद र जमुना पौडेलसहितले ‘तँ आफ्नो अंश लिई बसेको मान्छे किन अंशबन्डा लगाएको ठाउँमा आउनुप¥यो ।’ भनी वादविवाद गरी धम्की दिएका थिए । त्यहीबाट हाम्रो परिवार मास्ने इबी गरेका रहेछन् । उनीहरुकै समूहका अन्य प्रतिवादीले हामीसँग रिसइबी राखेका हुन् ।’ गङ्गामायाले आफ्ना छोरा कृष्णप्रसादलाई मार्नका लागि नेपाली सेनाको लेसनायक भएको निहुँ पारिएको पनि बकपत्रमा उल्लेख छ ।
गंगामायाले खासगरी मार्ने योजना बनाउने छविलाल पौडेल र जानुका पौडेल भएको भन्दै निजहरुसँगै विष्णु तिवारी, मेघनाथ पौडेल, कालीप्रसाद अधिकारी, रामप्रसाद अधिकारी, बाबुराम अधिकारी, हिमलाल, रुद्र शुभद्रा तिवारी, सीता अधिकारीसमेत पनि उक्त योजनामा संलग्न रहेको बताएकी छन् ।
गंगामायाले आफ्नो बकपत्रमा छोरा कृष्णलाई मार्नेचाहिँ चितवनमै बस्ने भीमसेन पौडेल र परशुराम पौडेल रहेको बताएकी छन् । प्रतिवादीतर्फका अधिवक्ता गोपीलाल देवकोटाले लिएको बकपत्रको प्रतिलिपिमा गंगामायाले भनेकि छन्, ‘कालीप्रसादका छोरा रामप्रसाद अधिकारीले जेठ २५ गते बिहान १० बजेतिरको समयमा गई तिमीहरुको छोरा कृष्णप्रसाद गाडी दुर्घटनामा परेको छ, भए रु आठ÷१० हजार लिएर जानु प¥यो । अहिले अस्पतालमा उपचार भइरहेको छ भनेका थिए ।’
गंगामायाको मुद्दामा चितवन अदालतमा यही असोज ९ गते सुनुवाइ हुँदैछ । सो अदालतको ३७ वर्षको इतिहासमा पहिलोपटक अस्पतालका चिकित्सक डा मनेनप्रसाद गोर्खाली र अस्पतालका कानुनी सल्लाहकार पूर्णिमा गुरागाईंको रोहवरमा यही असोज २ गते स्रेस्तेदार पन्तले बकपत्र लिएका थिए ।
विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ भने सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल फरार छन् ।
अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारिखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल ‘अजीव’लाई प्रतिव्यक्ति रु २७ हजार धरौटी लिइ तारिखमा छोडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही रु २० हजार धरौटी लिइ तारिखमा छाडेको छ । रासस
प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार १५:४६