तुलसीपुर २५ भदौ– दाङमा प्रहरीको गोली लागी एकजना गुण्डा घाईते भएका छन् । प्रहरीको गोलीवाट रामपुर ९ निवासी २७ वर्षीय दानवहादुर बुढा घाईते भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार शुक्रवार राति साढे १२ बजे तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला नजिकै पाँचजनाको संख्यामा रहेका गुण्डाहरुको समुहले गस्तिमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरेका थिए । जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको थियो ।
घटनास्थलवाट दुईथान खुकुरी र प्रहरीलाई आक्रमणगर्ने थप पाँच जना युवाहरुलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।
पक्राउपर्ने अन्य पाँचजनामा दाङको रामपुर गाविस वडा नं. ९ निवासी २१ वर्षीय रमेश अधिकारी, सोही ठाँउ निवासी १९ वर्षीय उपेन्द्र गिरी, सोही ठाँउकै २२ वर्षीय किरण पोख्रेल र तुलसीपुर नगरपालिका वडा नं. १५ निवासी सागर श्रेष्ठलाई पक्राउ गरिएको एसपी सिंहले जानकारी दिए ।
सागर कटेज सञ्चालक हुन । प्रहरीले थप एक जनालाई शनिवार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको विजौरी निवासी ३५ वर्षीय मुकुन्द पौडेल छन् । उनी घटनाहुँदा होटेलमा वसेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएकोले उनको सम्लग्नता भएनभएको भन्न नसकिने प्रहरीले बताएको छ ।
एसपी सिंहले गोली लागेर घाईते भएका बुढा यसअघिपनि विभिन्न व्यापारीलाई फोनमा धम्किदिने र रकम असुल्ने व्यक्ति भएको खुल्न आएको जानकारी दिए । उनले ग्वारखोलामा हुँदै आएको अबैद्य वालुवा गिट्टी उत्खनन्मा सघाउन आएका युवाहरु हुन कि भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारीपनि दिए ।
तर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले तुलसीपुर–घोराही सडक खण्डको सन्ध्या कटेजमा ६ जना मिलेर राति अबेर सम्म मदिरा सेवन गरेको र पछि फेरी उनीहरु ग्वारखोला नजिकको सागर हाईवय कटेजमा आएर मदिरा सेवनका लागि होहल्लागरि साहुलाई आतंकित पारेको खबर प्राप्त भएपछि प्रहरी पुग्दा प्रहरीमाथि नै जाईलागेकोले प्रतिरक्षाको लागि गोली चलाउनु परेको जानकारी दिए ।
डिएसी प्रसाँईले प्रहरी यति राति आउँछ तिमिहरु नक्कली हौ भन्दै प्रहरीको पेस्तोल खोस्न थालेपछि र आक्रमण गरेपछि सुरक्षाकाले लागि घुँडामुनी गोलि हानिएको जानकारी दिए ।
प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार ०९:००