काठमाडौ ३० भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल १ सय २५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत भारत भ्रमणमा जाँदै छन् ।
प्रधानमन्त्री दाहालको टोली नेपाल वायु सेवा निगमको जहाजबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लागेका हुन ।
भ्रमण टोलीमा प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. रामशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, सांसद नारायण चौधरी, लालबाबु रावत, योगेन्द्र चौधरी, टेकबहादुर बस्नेत र जङ्गीलाल राय रहेका छन् । त्यसैगरी, भ्रमण दलमा ५० जना सरकारी सदस्यमध्येमा प्रधानमन्त्रीको ‘कोर टिम’ २६ जना, उनका सल्लाहकार ६ जना, सुरक्षा टोलीमा तीन जना, सञ्चारकर्मीको टोलीमा सात जना र भारतस्थित राजदूतावासबाट आठ जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारत पुगेलगत्तै प्रधानमन्त्री दाहालले नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा भारतमा रहेका नेपाली उद्योगी व्यवसायी, विद्यार्थी, राजनीतिक कार्यकर्ता र सञ्चारकर्मीलाई निम्त्याइएको छ ।
प्रधानमन्त्री दाहाल भोलि राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा सहभागी हुनेछन । भोलि नै महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने बुझिएको छ ।
भोली नै प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता हुने छ ।
यस्तै, प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झाँक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा रहेको पतञ्जली योगपीठ र त्यससँग सम्बन्धित विभिन्न उद्योगको समेत निरीक्षण गर्ने छन् ।
त्यसैगरी, प्रधानमन्त्री दाहालले नयाँ दिल्लीमा बसोबास गर्दै आएका नेपाली समुदायका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । सबै कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फिर्ता हुने छन् ।
प्रकाशित मिति: ३० भाद्र २०७३, बिहीबार ०९:२०