सुर्खेत -असार १८, कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले कर्णाली प्रदेश अस्पतालको एमआरआई मेशिन खरिद बारे छानबिन थालेको जनाएको छ।
सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गर्न लागेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको समाचार सार्वजनिक भएपछि लेखा समितिले छानविन थालेको हो ।
समितिका सभापति करवीर शाहीले एउटै गुणस्तर र कम्पनीको एमआरआई उपकरण खरिदमा ७ करोड रुपैयाँ फरक परेपछि अनियमितता भएको हुन सक्ने बताउनु भयो।
कर्णाली प्रदेश अस्पताल सुर्खेत र सिभिल अस्पताल काठमाडौंले खरिद गर्ने निर्णय गरेका एमआरआई मेसिन एउटै कम्पनी र एउटै क्षमताका रहेको बतार्इएको छ ।
यी दुवै अस्पतालले थ्री टेस्ला क्षमता भएको एमआरआई खरिदका लागी बोलपत्र स्वीकृत गरि प्रक्रिया अगाडि बढाएका छन् ।
सिभिल अस्पताल भन्दा कर्णाली प्रदेश अस्पतालले खरिद गर्न लागेको उपकरणमा ७ करोड रुपैयाँ बढी छ।
सिभिल अस्पतालले २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ ।
प्रदेश अस्पतालले भने २९ करोड ७१ लाख ६६ हजार ७९२ रुपैयाँमा खरिद गर्न जिम्मा दिएको छ।
यसबारे प्रदेस अस्पताल र प्रदेस सरकारको प्रतिक्रिया भने सार्वजनिक भर्इसकेको छैन।
प्रकाशित मिति: १८ असार २०७९, शनिबार १७:४३