सुर्खेत, १ साउन ।
पुनरावेदन अदालत सुर्खेतले चालु आर्थिक बर्षको असार अन्त्यसम्म करिब ८५ प्रतिशत मुद्दा फर्छौट गरेको बताएको छ । चालु आर्थिक बर्षमा ७० प्रतिशत मुद्दा फर्छौट गर्ने लक्ष्य राखेको अदालतले लक्ष्यभन्दा करिब १५ प्रतिश मुद्दा फर्छौट गरिसकेको अदालतका निमित्त रजिष्ट्रार डिल्लीराम शर्मा अर्यालले जानकारी दिए ।
पुनरावेदन अदालतमा गत बर्षको १ सय १ र नयाँ दर्ता २ सय ३० गरी जम्मा ३ सय ३१ मुद्दामा अदालतले २ सय ८० वटा मुद्दा पूर्ण रुपमा फर्छौट गरिसकेको अदालतका निमित्त रजिष्ट्रार अर्यालले बताए । उनले चालु आर्थिक बर्षमा दर्ता हुन आएका मुद्दामध्ये ५१ वटा मुद्दा पुनरावेदन अदालतबाट फर्छौट हुन नसकेको जानकारी दिए ।
पुनरावेदन अदालत सुर्खेतले शुक्रबार गरेको पत्रकार सम्मेलनमा निमित्त रजिष्ट्रार अर्यालले जिल्ला अदालत सुर्खेतले आर्थिक बर्ष २०७२/०७३ मा ६४ प्रतिशत मुद्दा फर्छौट गरेको जानकारी दिए । गत बर्षका १ सय ६८ र नयाँ दर्ता ८ सय १६ गरी ९ सय ८४ वटा मुद्दा मध्ये सुर्खेत अदालतले ६ सय ३८ वटा मुद्दा फर्छौट गरिसकेको उनले जानकारी दिए ।
पुनरावेदन अदालत सुर्खेतले तयार पारेको रेकर्डमा जिल्ला अदालत सुर्खेतमा पुरा र नयाँ गरी अझै ३ सय ४६ वटा मुद्दा फर्छौट हुन बाँकी रहेको उल्लेख गरिएको छ । उक्त रेकर्डमा दैलेख जिल्ला अदालतले करिब ८१ प्रतिशत मुद्दा फर्छौट गरिसकेको छ । दैलेख जिल्ला अदालतमा ४४ वटा मुद्दा फर्छौट गर्न बांकी रहेको छ ।
यस्तै पुनरावेदन अदालत सुर्खेतका अनुसार जाजरकोट जिल्ला अदालतले ८९ प्रतिश मुद्दा फर्छौट गरेको छ । जसमा गत वर्षको ४१ र नयाँ दर्ता भएका १ सय ७१ गरी जम्मा २ सय १२ मुद्दामध्ये १ सय ८९ मुद्दा फर्छौट भइसकेको पुनरावेदन अदालतले जानकारी दिएको छ । पुनरावेदन अदालत सुर्खेतसँग उपलब्ध भएको रेकर्ड अनुसार जिल्ला अदालत जाजरकोटमा अहिले पनि २३ वटा मुद्दा फर्छौट हुन बाँकी छ ।
पुनरावेदन अदालत सुर्खेतका निमित्त रजिष्ट्रार अर्यालले जेठ मसान्तसम्म पुनरावेदन अदालतमा जग्गा, पारिवारीक, ज्यान, जर्बरजस्तीकरणी, चोरी, लागुऔषध लगायतका मुद्दा दायर हुने गरेको बताएका छन् । जस अन्तर्गत जग्गा सम्बन्धी दर्ता भएका ३३ वटा मध्ये २१ वटा मुद्दा फर्छौट गरिसकेको जनाइएको छ ।
यस्तै पारिवारिक सम्बन्धी ७७ मध्ये ३९ वटा, ज्यान सम्बन्धी ५३ मध्ये ४६ वटा, करणी सम्बन्धी ४६ मध्ये ३५ वटा मुद्दाहरु पुनरावेदनले फर्छौट गरिसकेको निमित्त रजिष्ट्रार अर्यालले जानकारी दिए । यस्तै चोरी सम्बन्धी १९ मध्ये १० वटा, लागुऔषध सम्बन्धी २० मध्ये १७ वटा अन्य ६० मध्ये ४४ वटा मुद्दाहरु फर्छौट गरिसकेको पुनरावेदन अदालत सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति: १ श्रावण २०७३, शनिबार ०७:४६