दोलखा (सिङ्गटी), २८ भदौ । कारितास नेपाल नामक गैर सरकारी संस्थाले सरकारलाई सघाउँदै दोलखाको उत्तरी दुर्गमका ओराङ र बुलुङवासीलाई आवास निर्माणको पहिलो किस्ताबापत रु पाँच करोड ५५ लाख वितरण गरेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जिल्ला विकास समिति समेतको समझदारीमा ती दुई गाविसका एकहजार ११० जनालाई पहिलो किस्ताबापत जनही रु ५० हजार वितरण गरेको संस्थाका जिल्ला कार्यक्रम संयोजक दलबहादुर शाहीले बताए ।
सरकार तथा प्राधिकरणको मापदण्डअनुसार दिइने दोस्रो र तेस्रो किस्ता पनि संस्थाले नै वितरण गर्ने सम्झौता भएको छ । शाहिले भने– आवास निर्माणका लागि सहयोग तथा सरसल्लाहका लागि एक इन्जिनियरसहित नौ प्राविधिक, जीविकोपार्जनमा सहयोग गर्न कृषि प्राविधिक समेत गाउँमा परिचालित छन् ।
आवास निर्माणका लागि आवश्यक पर्ने काठ, ढुङ्गा, बालुवा समेत ढुवानीबापत लाग्ने खर्च बढीमा रु ५० हजारसम्म संस्थाले थप सहयोग बेहोर्ने पनि उनले जानकारी दिए ।
लाभग्राहीको सूचीमा परेका ती गाविसका भूकम्पपीडितका लागि पायकपर्ने सिङ्गटीबाटै लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघु वित्तमार्फत् अनुदानबापतको सो रकम वितरण गरिएको हो ।
कारितास इन्टरनेसनलको आर्थिक सहयोगमा कार्यरत संस्थाले ती गाविसका लागि आवास निर्माणमा रु ३६ करोड ८१ लाख, जीविकोपार्जनमा रु तीन करोड ३३ लाख, खानेपानी तथा सरसफाइमा रु दुई करोड ८९ लाख र संरक्षण तथा मनोसामाजिक परामर्शका लागि रु २७ लाख गरी कुल रु ४३ करोड ३० लाख खर्च गर्ने लक्ष्य छ ।
तीन वर्षसम्म कार्यक्रम सञ्चालन गर्ने सो संस्थाले आवास निर्माणमा र जीविकोपार्जन अन्तर्गत कृषि तथा पशुपालनमा सहयोग उपलब्ध गराउनुका साथै खानेपानी तथा सरसफाइमा प्रत्येक वर्ष पाँचवटा खानेपानी योजना निर्माण र संरक्षण तथा मनोसामाजिकमा महिला पुरुषमा समानता, नेतृत्व विकास लगायतका विषयमा सचेतनाका लागि तालिम समेत दिने भएको छ ।
भूकम्पपछि संस्थाले ओराङ, बुलुङ र लादुक गाविसका दुई हजार ५०० लाई अस्थायी आवासका लागि दुई/दुई बन्डल जस्तापाता, पाल लगायतका राहत सामग्री वितरण गरिसकेको छ ।
सिङ्गटी आइपुग्नु भएका खारे– ७ का दावा शेर्पा र लादुकका गिरेन्द्र मल्लले गैरसरकारी संस्थाले छिटोछरितो, सहज, सरल तरिकाले दुई दिनमै दुई गाविसका लाभग्राहीलाई रकम वितरण गरेको देखेर चकित हुँदै भने–आफुहरुले चैत महिनामै सम्झौता गरेपनि सरकारी रवैयाले अझै रकम पाउन सकेको छैन । रासस