काठमाडौं, २१ कात्तिक । कांग्रेसका पाँच नेताले मर्यादाक्रम नमिलेको भन्दै १३औँ महाधिवेशनपछि बसेका चारवटै केन्द्रीय कार्यसमितिको बैठकमा हस्ताक्षर गरेका छैनन् । आफूहरूको ‘सिनियारिटी’अनुसार मर्यादाक्रम नमिलेको भन्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महत र केन्द्रीय सदस्य रमेश लेखकले उपस्थितिपुस्तिकामा हस्ताक्षर नगरेका हुन् । लेखक पहिलोपटक केन्द्रीय सदस्य बनेका हुन् ।
चार देउवा पक्षका, एक पौडेल पक्षका
पाँच नेतामध्ये १३औँ महाधिवेशनबाट श्रेष्ठ, गुरुङ, महत र लेखक खुला २५ बाट निर्वाचित भएका थिए । महामन्त्रीमा पराजित भएपछि केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । पाँच नेतामध्ये चारजना सभापति देउवा पक्ष र महत एक मात्र पौडेल पक्षीय नेता हुन् । चैतको पहिलो साता बसेको केन्द्रीय समिति बैठकअघि बनाइएको मर्यादाक्रममा सिनियर नेताहरूले असन्तुष्टि जनाएका हुन् ।
सिंह र सिटौलालाई अगाडि राखिएकोमा श्रेष्ठको आपत्ति
मर्यादाक्रममा श्रेष्ठलाई सातौँ नम्बरमा राखिएको छ । आफूभन्दा अघि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई राखिएकोमा उनले असन्तुष्टि जनाएका हुन् । आफ्नो माग सुनुवाइ नभएको भन्दै नेता श्रेष्ठ केन्द्रीय समिति बैठकमा पछाडि बस्दै आएको बताउँछन् । साथै, केन्द्रीय समितिमा पदीय मर्यादा नमिलाएपछि संसद् बैठकमा पनि आफू अगाडि नबसी पछाडि बस्न थालेको उनले बताए । यसअघि पार्टीमा महाधिवेशन भएपछि पदीय मर्यादाक्रमबारे ठूलो झमेला र लफडा नभएको श्रेष्ठ बताउँछन् ।
आफूलाई उपेक्षा गरिएको गुरुङको गुनासो
नेता कुलबहादुर गुरुङ आफूलाई उपेक्षा गरिएको बताउँछन् । महामन्त्री भइसकेका पुराना नेता गुरुङलाई मर्यादाक्रममा नवौँ नम्बरमा राखिएको छ । आफूभन्दा अघि निधि र सिटौलालाई राखिएकोमा उनको असन्तुष्टि छ । १३औँ नम्बरमा रहेका डा. रामशरण महत र १४औँ नम्बरमा रहेका अर्जुननरसिंह केसी पनि असन्तुष्ट छन् । केसीले मर्यादाक्रम वैज्ञानिक नभएको बताए पनि आफ्नो असन्तुष्टि के हो भन्नेबारे खुलाउन चाहेनन् ।
अर्का नेता लेखक अहिले केही नबोल्ने भन्दै पन्छिए । उनलाई मर्यादाक्रममा ६७औँ स्थानमा राखिएको छ । आफूभन्दा जुनियर नेता अघि रहे पनि आफूलाई निकै पछाडि राखिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । डा. महतले हालै बसेको केन्द्रीय समिति बैठकमा मर्यादाक्रम नमिलेको भन्दै असन्तुष्टि जनाएका थिए । ८५ सदस्यीय कांग्रेस केन्द्रीय समितिमा अहिले ७५ सदस्य छन् । १० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
मर्यादा नमिलेको सिटौलाको स्विकारोक्ति
नेता श्रेष्ठले नेविसंघको महाधिवेशनको उद्घाटन सत्रमा मर्यादाक्रम नमिलेको भन्दै असन्तुष्टि जनाएका थिए । सोही उद्घाटन सत्रमा बोल्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गोपालमान आफूभन्दा सिनियर रहेको भन्दै उनको चित्त दुखाएर आफूलाई अगाडि राख्दा पदीय मर्यादा नै नमिलेको स्विकारेका थिए ।
विमलेन्द्र र प्रकाशमानको लडाइँले उपसभापति थपियो
कांग्रेस विभाजनका वेला विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये मर्यादाक्रममा को सिनियर भन्ने विवाद भएपछि ६ महिनासम्म माइन्युट हुन सकेको थिएन । ‘कांग्रेसमा सिंह र निधिबीच को अगाडि महामन्त्रीमा रहने भन्नेमा विवाद हुँदा ६ महिनासम्म माइन्युट हुन सकेको थिएन,’ श्रेष्ठ आफू उसभापति भएका वेलाको घटना स्मरण गर्दै भन्छन्, ‘एक उपसभापति बनाउनुस् भनेर सभापतिलाई भनेपछि, मपछिको उपसभापति प्रकाशमानलाई बनाइयो र कुरा मिल्यो ।’ उपसभापति भइसकेका सिंह १२औँ महाधिवेशनमा महामन्त्री लड्दै जितेका थिए । तर, १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र चुनावमा उठेका थिए । नेता श्रेष्ठ भने १२औँ र १३औँ दुवैमा केन्द्रीय सदस्यमा चुनाव लडे ।
यसो भन्छन् हस्ताक्षर नगर्ने नेता
म नै पहिलो नम्बरमा हुनुपर्छ
गोपालमान श्रेष्ठ
कांग्रेसमा जीवित उपसभापति म मात्रै हो, अरू कोही छैन । प्रकाशमान उपसभापतिले छाडेर महामन्त्री जिते र अहिले केन्द्रीय सदस्यमा जितेका छन् । महामन्त्रीबाट निवर्तमान भएका सिंह उपसभापतिभन्दा माथि हुन सक्दैनन् । सिंह र कृष्णप्रसाद सिटौलालाई मभन्दा राखिएकाले मैले केन्द्रीय समितिका चारवटै बैठकमा उपस्थिति माइन्युटमा हस्ताक्षर गरेको छैन । १२औँ महाधिवेशनपछि सुशीलजीले पदाधिकारीपछि सदस्यको क्रममा मलाई पहिलो नम्बरमा राख्नुभएको थियो । त्यसैले आज पनि पदाधिकारीपछि म नै पहिलो नम्बरमा हुनुपर्छ । हामी विधिको शासन भन्दै राणाविरुद्ध, पञ्चायतविरुद्ध र गणतन्त्रका लागि लड्यौँ, तर पार्टीमै विधि नभएपछि चित्त नबुझेर हस्ताक्षर नगरेको हो । चारवटा बैठकमा गएँ, तर अब पनि मर्यादाक्रम नमिलाए अबको बैठक नै बहिष्कार गर्छु । मैले केन्द्रीय समितिमै आफ्नो यो भनाइ खुलस्त राखिसकेको छु ।
मलाई कहाँ राख्नुपर्छ भनेर प्रस्टै छ
कुलबहादुर गुरुङ
उमेर र पूर्वमहामन्त्री भइसकेको हुनाले मलाई कहाँ राख्नुपर्छ भनेर प्रस्टै छ । तर, नवौँ नम्बरमा राखिएको छ । नबुझेर हो वा नजानेर हो कि हाम्रो असन्तुष्टि छ, तर केही भन्दैनन् । हामीले ठीक गरेका छौँ पनि भन्दैनन् । मिलाउन पनि खोज्दैनन् । १३औँ महाधिवेशनमा मैले आफैँ प्रस्तावक बनिदिएर देउवाजीलाई सभापतिमा अघि सारेँ । उहाँलाई अघिसार्दा अरू कुरा पनि भएका थिए । पदीय मर्यादामा नियमबमोजिम हुन्छ भनेर बस्यौँ । तर, कतिपय साथीले हामीलाई पछाडि राख्न हुँदैन भनेर चुनौती दिएछन् । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखानजस्तै भयो । मर्यादाक्रम नमिलेकाले नै मैले चारवटै बैठकमा हस्ताक्षर गरेको छैन ।
मर्यादाक्रम वैज्ञानिक र यथार्थपरक छैन
अर्जुननरसिंह केसी
निश्चित मापदण्ड नमिली राखिएकाले मैले सुरुका तीनवटा बैठकमा हस्ताक्षर गरेको छैन । को तल–माथिभन्दा पनि निश्चित मापदण्डलाई आधार मानौँ भन्ने हो । सिनियारिटी, निरन्तरताअनुसार मर्यादाक्रम हुनुपर्छ । अहिलेको मर्यादाक्रम वैज्ञानिक र यथार्थपरक छैन ।
चर्चित नेता को कुन मर्यादाक्रममा ?
सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको विषयमा कुनै विवाद छैन । तर, त्यसपछि को रहने भन्ने विषयमा विवाद छ । अहिलेको क्रममा पूर्वउपसभापति प्रकाशमान सिंह पाचौँ नम्बरमा छन् । पछिल्लो महाधिवेशनमा सभापतिमा पराजित कृष्ण सिटौला छैटौँ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ सातौँ र देउवाका विश्वासपात्र मानिने पूर्वमहामन्त्री विमलेन्द्र निधि आठौँ नम्बरमा छन् । पूर्वमहामन्त्री कुलबहादुर गुरुङ नवौँ, उपसभापतिको दाबी गरिरहेका खुमबहादुर खड्का १०औँ, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव ११औँ र पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का १२औँ नम्बरमा छन् । मर्यादाक्रमप्रति असन्तुष्टि जनाउने पूर्वसहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी क्रमशः १३ र १४औँ नम्बरमा छन् । महाधिवेशनमा महामन्त्री पदमा पराजित चर्चित युवा नेता गगन थापा ४८औँ नम्बरमा छन् । महाधिवेशनमा लोकप्रिय मत ल्याएका युवा नेता प्रदीप पौडेल ५७औँ र रमेश लेखक पुछारबाट पाचौँ नम्बर(६७)मा छन् । त्यस्तै, शेखर कोइराला ३२औँ र विश्वप्रकाश शर्मा ६५औँ नम्बरमा छन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार ०७:५८