काठमाडाैँ, १९ भदौ । हारितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा आज लागेको मेला विगत २७ वर्षमा नै सबैभन्दा व्यवस्थित भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मेला व्यवस्थित भएका कारण २७ वर्ष अघिदेखि बन्द हुँदै आएको चावहिल–गौशाला–पुरानो बानेश्वर र रातोपुल सडकमा यस वर्ष दिनभर सवारी साधन जाम भएन । दिउँसो केहीबेर सवारी रोकिए पनि दिनभर पैदल यात्रा गर्नुनपरेको यात्रुको भनाई छ ।
दर्शन एवम् पूजाका लागि आएका महिलाहरु पनि यस वर्ष पशुपतिमा व्यवस्थित भएकाले छिटो दर्शन गरेर फर्कन पाएको बताउँछन् । कौशलटारबाट आएकी रश्मी पौडेल यस वर्ष पशुपतिमा पहिलेभन्दा लाइनमा राम्रो व्यवस्था भएकोले छिटो दर्शन गरेर फर्कन पाइएको बताउँछिन्।
विगत वर्षमा सशुल्क दर्शनका लागि कोषले रु एक हजारमा पास वितरण गर्दा लाइनमा बस्नेले दर्शन गर्न लामो समय कुर्नुपर्ने बाध्यता थियो । यस वर्ष कोषले सशुल्क पासको व्यवस्था खारेज गरेपछि छिटो दर्शन गर्न पाइएको दर्शनार्थीको अनुभव छ । यस वर्ष स्वयम्सेवक पनि हटाउँदा व्रतालु महिला बाहेकको भीड कम भएकाले छिटो दर्शन गर्न पाइएको दर्शनार्थीले बताएका छन् ।
कोष स्थापना भएदेखि अहिलेसम्मको व्यवस्थापनमा यस वर्ष राम्रो भएकाले यसलाई शिक्षाका रुपमा लिई भक्तजनले औँल्याएका कमीकमजोरीलाई अर्को वर्षदेखि सुधार्ने प्रतिबद्धता कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले जनाए ।
अर्की दर्शनार्थी कमला रिसाल भने आस्थाका साथ पशुपतिमा आएर पूजा सामग्री पशुपतिनाथमा चढाउन खोज्दा पनि सामग्री थुन्सेमा हालिएको गुनासो गर्नुहुन्छ । भक्तजनले यसमा सुधार गरिनुपर्ने माग गर्दै आएका छन् ।
रातो पहिरनमा सजिएका महिला पशुपति दर्शनपछि परिसरमा नाचगान गरी रमाइलो गरिरहेका छन् । यस वर्ष नौ लाख ब्रतालुले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी ६ः३० बजे र प्रधान न्यायाधीश सुशीला कार्कीले ७ः०० बजे दर्शन गर्ने कार्यक्रम रहेको सदस्य सचिव टण्डनले जानकारी दिए ।
तीजका अवसरमा आज देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । अविवाहित महिलाले सुयोग्य वर प्राप्ति र विवाहित महिलाले परिवारको सुख शान्तिको कामना गर्दै भाद्र शुक्ल तृतीयाका दिन सक्नेले निराहार, नसक्नेले जलाहार वा फलाहार गरी व्रत बस्ने गर्दछन् । रासस