दैलेख, रानीमत्ता । कर्णाली प्रदेशका उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री नन्दसिह बुढाले कर्णालीको आर्थिक बिकासका लागि पर्यटनको बिकास गर्नु पर्ने बताएका छन् । गुराँस गाउँपालिका दैलेखको आर्थिक सहयोगमा सेती वराह मिडिया प्रालिले रानीमत्तामा आयोजना गरेको तिन दिने गुराँस महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कर्णालीमा पर्यटकीय सम्भावना रहेको भन्दै यहाँका पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धन गरी पर्यटक आकर्षण गर्न सकिने मन्त्री बुढाले बताए । ‘कर्णालीको बिकास पर्यटन प्रबद्र्धनका माध्यमबाट गर्न सकिन्छ’ उनले भने, ‘यसका लागि यहाँका पर्यटकीय क्षेत्रहरुको पहिचान, त्यसको पूर्वाधार बिकास र प्रचार प्रसार गर्न जरुरी छ । कर्णाली सरकारले पर्यटन विकासका लागि लगानी गरे पनि लगानीको प्रतिफल आउन नसकेको उनले बताए ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रको पहिचान गरी उनीहरुको बिकासका लागि योजना बनाएको उनले बताए ।
गुराँस गाउँपालिकाको भौगोलिक बनावट तथा यहाँको प्राकृतिक हावापानीले पर्यटकको आकर्षण बन्ने भएकोले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।
महोत्सव उद्घाटनमा बोल्दै कर्णाली बिकास आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले कर्णालीको बिकासका लागि आवश्यक संरचना बिकासका लागि आयोगले योजना बनाई रहेको बताए । उनले गुराँस गाउँपालिकाको बिकास र यहाँको प्रबद्र्धनका लागि वीरेन्द्रनगरदेखि सिद्धपाइलासम्म केवलकारको सम्भाव्यता अध्ययनमा आयोग लागेको उनले बताए ।
कर्णाली प्रदेश सभा सांसद पद्मा खड्काले कर्णालीको आर्थिक बिकासका लागि यहाँको कृषि उत्पादनको बजारीकरण र देशभरका पर्यटकलाई आकर्षण गर्न सकिने बताईन् ।
गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले पर्यटन क्षेत्रको बिकास र विभिन्न उद्योग स्थापना गर्न सके यूवालाई रोजगारीको अवसर सिर्जना गर्ने गरी योजना बनाउन स्थानीय र प्रदेश सरकार लाग्नुपर्ने बताए ।
उनले गुराँसेको डाडोमा आएर हेर्दा कर्णाली समृद्ध गर्न सक्ने योजना जो कोहीको दिमागमा आउने भन्दै पर्यटन क्षेत्रको विकास गुराँसेबाट गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झाले गुराँस संरक्षण गरी पर्यटकहरुलाई बस्ने वातावरण बनाउन सुझाव दिए ।
उद्घाटन समारोहमा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष हिम बहादुर ओलीले विकास सबै सरकारको समन्वयमा हुनुपर्ने बताउदै सरकारहरु बाझिएर विकास हुन नसक्ने धाराणा राखे ।
गुराँस गाउँपालिका दैलेखको आर्थिक सहयोगमा सेतीवराह मिडिया प्रालिले आयोजना गरेको महोत्सव आइतबारसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सव आयोजकका संयोजक खगेन्द्र सुनारले दिएका जानकारी अनुसार भोली राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने बताए । उनले गुराँसको पहिचान र प्रचारका लागि महोत्सव आयोजना गरिएको बताए ।
गुराँस महोत्सवको झलक भिडियाे सहित
प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार २१:२८