रामपुर (पाल्पा), १८ कात्तिक । कालीगण्डकी बेँसीकै रमणीय उपत्यका मानिएको रामपुर क्षेत्रको पर्यटन विस्तारको कार्य अगाडि बढ्न सकेको छैन ।
पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको सङ्गमस्थलका रुपमा रहेको रामपुर क्षेत्रमा बजार बस्ती बढ्दै गए पनि पर्यटन क्षेत्रको विकासले फड्को मार्न सकेको छैन । जिल्लाको दोस्रो मुख्य व्यापारिक केन्द्रका रुपमा स्थापित पूर्वी पाल्पाको रामपुर क्षेत्र नगरपालिकामा परिणत हँुदा पनि पर्यटन प्रवद्र्धनमा सधैँ पछाडि परिरहेको छ ।
सरोकारवाला निकायले चासो नदिएकाले यहाँको पर्यटन प्रवद्र्धन हुन नसकेको हो । दिनहुँ बढ्दै गरेको अव्यवस्थित बस्ती, अव्यवस्थित बजार, मापदण्ड विपरीत बनाइएका घर, नगरपालिकाभित्रका कच्ची सडक, साँघुरो मोटरबाटो, बजारबाट निस्कने फोहर व्यवस्थापन हुन नुक्दा यहाँको पर्यटन क्षेत्र पछाडि परिरहेको समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताए ।
यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक, कृषि क्षेत्रमा पर्यटक भित्र्याउन सकिने प्रसस्त सम्भावना छन् । सीताले रजस्वला हुँदा नुहाएको कुण्ड सीताकुण्ड, गिद्ध संरक्षण क्षेत्र रहेको रमणीय खैरेनी सामुदायिक वन, तालपोखरा, भ्युटावर, केलादी, नागबेली बनेर बगेकी कालीगण्डकी नदी, काउलेडाँडा, कबुलियती वन, भगवान् रामले नुहाएको कालीगण्डकीको रामघाट, पूजाआजा गर्ने रामघाट मन्दिर, रामले तपस्या गरेको रामगुफा, रामले भात पकाएको रामचुलो, राम्चे वन, राममन्दिर, टापुधाम मन्दिर, सिद्धबाबा मन्दिर यहाँका रमणीय ऐतिहासिक धार्मिक क्षेत्र हुन् ।
मगर, नेवार, मुस्लिम, कुमाल, दराई, ब्राह्मण समुदायको बसोबास रहेको यस क्षेत्रलाई चारैतिर हरियाली डाँडाकाँडाले ढाकेको छ । रामपुर बजारभन्दा माथि रहेको हरियाली राम्चे वनमा निर्मित भ्युटावरबाट स्याङ्जा, तनहुँ र नवलपरासीको दृश्य अवलोकन गर्न सकिन्छ । पर्यटन प्रवद्र्धन र विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकेको खण्डमा यहाँ दिनहुँ आम्दानीको स्रोत बढ्ने शिक्षाविद् सुरेन्द्र शर्मा बताउँछन् ।
दैनिक हजारौँको सङ्ख्यामा पाल्पा हुँदै पर्यटकीय सहर पोखरा र लुम्बिनीमा अवलोकनका लागि पर्यटक आवतजावत गर्छन् । त्यहाँ पुग्ने पर्यटकलाई यस क्षेत्रमा आउने वातावरणसम्म तय गर्न नसक्दा पर्यटन क्षेत्र ओझेलमा पर्दै गएको पर्यटन प्रवद्र्धन विकास समिति रामपुरका अध्यक्ष मुरारीप्रसाद काफ्लेले बताए । सडकको विस्तार र विकास नभएका कारण पर्यटन क्षेत्रको विकास नभएको उनको भनाइ छ ।
पाल्पाली ढाका र करुवाले प्रसिद्धि पाएको सदरमुकाम तानसेनसम्म सामान खरिद गर्न आउने पर्यटकलाई सडकको स्तरोन्नति गर्नसकेको खण्डमा यस क्षेत्रमा भित्र्याउन सकिने अवस्था छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै धनी रहेको रामपुरको पर्यटन क्षेत्रलाई प्रवद्र्धन र विकास गर्न सके प्रसस्त आम्दानीको स्रोत यहाँ भित्रिने बताइएको छ ।
रासस