चितवन, १ साउन । जिल्ला अदालत चितवनमा चालु आवमा तीन हजार २६० मुद्दाको फैसला भएको छ ।
कुल मुद्दा चार हजार ३१५ रहेकोमा ७५ दशमलव ५५ प्रतिशत मुद्दा फैसला भएका हुन् । यो प्रतिशत हालसम्मकै सबैभन्दा उच्च हो । गत आवमा ६९ दशमलव ८१ प्रतिशत मुद्दा फैसला भएका थिए । गत वर्षबाट सरेर एक हजार ७८ वटा मुद्दा आएका थिए भने यो वर्ष तीन हजार २३७ वटा मुद्दा परेका थिए ।
अदालतमा छ जना न्यायाधीश रहेका छन् । मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार फुजेल घटनाको मुद्दाबाहेक अन्य कुनै पनि मुद्दा दुई वर्ष नाघेका छैनन् । १८ महिनादेखि २४ महिनासम्मका १० वटा, १२ महिनादेखि १८ महिनासम्मका २८ वटा, ६ महिनादेखि १२ महिनासम्मका २२० वटा र ६ महिनाभित्रका ७९७ वटा गरी एक हजार ५५ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् । कुँवरका अनुसार अदालतमा सबैभन्दा बढी ६४१ वटा अंश मुद्दा दर्ता भएकोमा ४०४ वटा फैसला भएका छन् भने दोस्रो धेरै सम्बन्धबिच्छेदका ५६५ मुद्दामध्ये ४६२ वटा फैसला भएका छन् ।
त्यसैगरी नाता कायमका १५३ मध्ये १४७ वटा, मानाचामलका ११८ मध्ये ६७ वटा, करणीका ८० मध्ये ६८, नाबालकका १४ मध्ये ९, चोरीका ४५ मध्ये ४५, लागुऔषधका १०९ मध्ये ९४, कर्तव्यज्यानका १८ मध्ये १४, मानव बेचबिखनका आठमध्ये तीन वटा मुद्दा फैसला भएका छन् । निरन्तर सुनुवाइबाट १९९ वटा मुद्दा फैसला भएका छन् जसमा २३६ मुद्दा परेका थिए । ती मुद्दा छिटोमा पाँच दिनमा फैसला हुँदै आएको छ ।
मेलमिलापबाट ९५ वटा मुद्दा मिलापत्र भएका छन् । २२५ वटा मुद्दा मेलमिलापमा पठाइएकोमा ७७ वटा असफल भएका हुन् भने ५३ वटा बाँकी रहेका छन् ।
जिल्ला अदालत चितवनले थालेको दोभाषे प्रयोग देशका अन्य अदालतमा पनि प्रयोग हुँदै आएको बताउँदै न्यायाधीश कुँवरले मुद्दा मुख्य हेराइमा जानु अघि पूर्व सुनुवाइ गर्ने, अभिभावक र कानुन व्यवसायीसँग बालबालिकाको मुद्दा पारिवारिक छलफल गराउने, अदालतमा आउने सेवाग्राहीलाई कर्मचारीले जान्न चाहेको कुरा सहजरुपमा बुझाउन ‘सेवाग्राहीलाई एक मिनेट’ अभियान प्रभावकारी भएको बताए ।
विसं २०१८ मा स्थापना भएको जिल्ला अदालत चितवनमा बर्सेनि मुद्दा थपिने क्रम जारी रहेको छ । रासस