नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो ।
एकदिवसीय फर्म्याटको पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो।
नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।
उसका लागि भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए ।
नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।
नेपालका लागि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले ।
रोहितले अविजित ७१ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका उनले ३१ बलमा ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै दीपेन्द्रले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनको योगदान गरे ।
पवन सर्राफले ३७ तथा देव खनालले २० रन जोडे । कुशल भुर्तेल २ रनमा आउट हुँदा आदील आलमले अविजित १० रन बनाए ।
ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले १/१ विकेट लिए ।
क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो ।
अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ ।
त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
प्रकाशित मिति: २० असार २०७९, सोमबार १६:२१