काठमाडौ १९ जेठ- नेपालले ०६२/६३ यता भारतबाट अनुदानमा खरिद गरेका हतियार र गोलीगठ्ठा, सैनिक सामग्री तथा विस्फोटक पदार्थको तिर्नुपर्ने रकम मिनाहाका लागि भारतसँग प्रस्ताव गर्ने भएको छ ।
नयाँदिल्लीमा २७ र २८ जेठमा बस्ने नेपाल–भारत दुईपक्षीय परामर्श समितिको बैठकमा नेपालले यो प्रस्ताव लैजाने भएको हो ।
सेनासँग सम्बन्धित भएकाले त्यहीअनुसारको तयारी
‘दुईपक्षीय परामर्श समितिको बैठक नयाँदिल्लीमा बस्ने तय भएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिंखडाले नयाँ पत्रिकासँग भने, ‘यो समिति सेनासँग सम्बन्धित हुनाले त्यहीअनुसारको तयारी भइरहेको छ ।’ यसअघि ०७१ मा यो बैठक नेपालमा आयोजना भएको थियो ।
भूकम्प र नाकाबन्दीले दुईपटक स्थगित भएको थियो
बैठक गत वर्ष दुईपटक बैठक तय भए पनि भूकम्प र भारतको नाकाबन्दीका कारण स्थगित भएको थियो । यसअघि महाराष्ट्रमा बस्ने तयारी भएको बैठक नाकाबन्दीका कारण रोकिएको थियो । नयाँदिल्लीमा बस्ने बैठकको व्यवस्थापन भारत सरकारले गर्नेछ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
को–को सहभागी हुँदै छन् ?
दुईपक्षीय बैठकको नेतृत्व नेपालबाट परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदीले गर्नेछन् । बैठकमा सहभागी हुन नेपालबाट रक्षा मन्त्रालयका सहसचिव शिवप्रसाद सिंखडा, दिल्लीमा नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र आधा दर्जन सैन्य अधिकारी सहभागी हुनेछन् । बैठकमा भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरले भारतका तर्फबाट नेतृत्व गर्नेछन् । भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजित राय र सैन्य अधिकारीहरू पनि सामेल हुनेछन् ।
रोकिएका बैठक सुचारु हुने
नाकाबन्दीका कारण रोकिएका नेपाल र भारतबीच विभिन्न दुईपक्षीय संयन्त्रको बैठक सुचारु भएको छ । एक साताअघि दिल्लीमा जलस्रोतसम्बन्धी सहसचिवस्तरीय बैठक भएको थियो । २७ र २८ जेठमा दुईपक्षीय परामर्श समितिको बैठक बस्दै छ । त्यसपछि वाणिज्य सचिवहरूले नेतृत्व गर्ने दुईपक्षीय अन्तरसरकारी समितिको बैठक बस्नेछ । ‘त्यसपछि गृहसचिवस्तरीय बैठक पाइपलाइनमा छ,’ परराष्ट्रका एक अधिकारीले भने ।
२० र २१ असारमा प्रबुद्ध समूहको बैठक
नेपाल–भारतबीच सबै सन्धि, सम्झौता, सहमतिको अध्ययन गरी दुवै सरकारलाई सुझाब दिन गठित प्रबुद्ध समूहको पहिलो बैठक २० र २१ असारमा काठमाडौंमा तय भएको छ । पहिलो बैठक काठमाडौंमा बस्ने दुईपक्षीय सहमति भएअनुसार बैठक बस्न लागेको हो । भारतले प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा ८ फागुनमा प्रबुद्ध समूह घोषणा गरेको थियो भने नेपालले माघमै समूह गठन गरेको थियो । ‘पहिलो बैठक जुलाई ४ र ५ (२० र २१ असार) मा काठमाडौंमा बस्ने तय भएको छ,’ प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने । त्यसपछिको बैठक भारतमा बस्नेछ । समूहमा नेपालका तर्फबाट समूहमा पूर्वमन्त्री नीलाम्बर आचार्य, पूर्वराजदूत एवं पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, एमाले सांसद डा. राजन भट्टराई र पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय छन् । समूहको कार्यालय नारायणहिटीस्थित राहदानी विभाग भवनमा तोकिएको छ । भारतीय समूहमा लोकसभा सांसद तथा भाजपा नेता भगतसिंह कोसियारी, नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी लामा छन् ।
६०% अनुदानमा किनेका हतियारको रकम तिर्न बाँकी
सैन्य स्रोतका अनुसार ०६२/६३ यता नेपालले भारतबाट ६० प्रतिशत अनुदानमा किनेका हातहतियार र गोलीगठ्ठाको करिब दुई अर्ब रुपैयाँ भारतलाई तिर्न बाँकी छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणमा त्यसको मिनाहाका लागि सरकारले प्रस्ताव लैजाने गरे पनि अन्तिममा सम्बन्धित अधिकारीकै बैठकमा कुरा राख्ने तय भएको थियो । ‘भारतले ६० प्रतिशत अनुदानमा दिएको हतियारको ४० प्रतिशत मूल्य हिसाब गर्दा दुई अर्ब पुगेको जानकारी आयो, मिनाहा गर्न प्रस्ताव गर्नेछौँ,’ सैनिक स्रोतले भन्यो । ०६३ मा पौने दुई अर्ब मिनाहा भारतले ०६३ मा त्यसअघि खरिद गरेका सबै हतियारको रकम मिनाहा गरेको थियो । दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भ्रमणका क्रममा भारतले सैन्य सामग्री खरिदको पौने दुई अर्ब ऋण मिनाहा गरेको थियो । नेपालले इन्सासलगायतका राइफल किनेबापत भारतलाई मूल्यको ४० प्रतिशत रकम तिर्न बाँकी छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०७३, बुधबार ०६:४८