काठमाडौ २७ भदौ- नेपाल वायुसेवा निगमको नयाँ जहाज खरीदसम्बन्धी प्रस्ताव अर्थ मन्त्रलायले केही सातामै मन्त्रिपरिषद्मा लैजाने भएको छ । निगम व्यवस्थापनले अन्तरराष्ट्रिय उडान बढाउन भन्दै लामो समयदेखि बाइडबडी जहाज खरीदको तयारी गरे पनि लगानीको स्रोत टुङ्गो नलाग्दा अघि बढ्न सकेको छैन । यसपालि भने लगानीका लागि ऋण लिने विषयमा अर्थ मन्त्रालय सकारात्मक बनेपछि प्रक्रिया अघि बढ्ने सङ्केत देखिएको हो ।
निगमले यसै वर्ष दुईओटा वाइडबडी जहाज खरीदका लागि आवश्यक रू. २५ अर्ब ऋण लिन सरकारलाई जवानी बसिदिन आग्रह गर्दै आएको थियो । यसै विषयलाई मूर्तरूप दिन आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र पर्यटन सचिव प्रेम राईले अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर छलफल गरेका छन् । छलफलमा पर्यटन मन्त्रालयले विमान खरीद प्रक्रिया अघि बनाउन र ऋणका लागि जमानी बसिदिनसमेत आग्रह गरेका थिए ।आर्थिक अभियान दैनिकमा खबर छ ।
छलफलमा मन्त्री महराले जहाज खरीदका लागि अर्थ मन्त्रालय सकारात्मक रहेको भन्दै सो प्रक्रिया केही दिनमा नै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । अर्थमन्त्री महराले जहाज खरीदका लागि सरकार जमानी बस्न तयार रहेको समेत बताएका छन् । कंसाकारका अनुसार मन्त्रिपरिषद्ले जहाज खरीदसम्बन्धी निर्णय गरेपछि निगमले अन्तरराष्ट्रिय टेण्डर आह्वान गरेर प्रतिस्पर्धाका आधारमा कम्पनी छनोट गरिनेछ ।
निगमले जहाज खरीदसँगै आवश्यक पाइलटको पनि व्यवस्था गर्ने बताएको छ । हाल निगमले सञ्चालन गरिरहेको आन्तरिक र अन्तरराष्ट्रिय उडानका लागि करीब डेढ सय पाइलट आवश्यक रहेकोमा जम्मा सयभन्दा कम मात्र छन् ।
जहाजको कमीका कारण नै निगमले अन्तरराष्ट्रियतर्फ यूरोप तथा विभिन्न गन्तव्यमा उडान गर्न सकेको छैन । नयाँ विमान आएसँगै यूरोप, अष्ट्रेलिया, जापान, कोरिया, चीन र भारतमा उडान गर्ने निगमले लक्ष्य लिएको छ । हाल निगमले बोइङमार्फत कतारको दोहा, मलेशियाको क्वालालम्पुर र कोलकातामा चार्टरमा उडान गरिरहेको छ । यसैगरी भदौ २ गतेदेखि युनाइटेड अरब इमिरेट्स (दुबई)मा उडान गर्दै आएको छ । २ एयरबसबाट भारतको दिल्ली, मुम्बई, बेङ्लोर, हङ्कङमा उडान गर्दै आएको बताएको छ ।
प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार ०६:५८