दैलेख, २१ कात्तिक । स्थानीय तह पुनर्संरचना आयोगको नयाँ मापदण्ड अनुसार दैलेखमा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिकाको प्रस्ताव गरिएको छ । आयोगले जिल्लामा ८ देखि ११ वटासम्म स्थानीय इकाई बनाउन मापदण्ड बनाएअनुसार दैलेखमा ११ स्थानीय इकाईको प्रस्ताव गरिएको हो ।
राजनीतिक दल र जिल्लास्थित प्राविधिक समितिको बैठकले स्थानीय इकाईको नाम, संख्या र केन्द्रमा सहमति जुटाएको हो । दुई वटा निर्वाचन क्ष्ोत्र रहेको दैलेखमा निर्वाचन क्षेत्र नम्बर १ मा १ नगरपालिका र ५ वटा गाउँपालिका बनाउने समिति भएको छ भने निर्वाचन क्षेत्र नम्बर २ मा ३ नगरपालिका र २ गाउँपालिका बनाउने सहमति भएको छ ।
जिल्ला स्थित सबै राजनैतिक दल र प्राविधिक समितिको बैठकले ११ वटा स्थानीय इकाईको नाम, संख्या तथा सीमांकन टुंग्याएको छ । क्षेत्र नम्बर १ मा नारायण नगरपालिका, महाबु गाउँपालिका, नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुंगेश्वर गाउँपालिका र गुराँस गाउँपालिका बनाएको छ ।
हालको नारायण नगरपालिकामा विन्ध्यावासिनी, भवानी र आधार खरिगैरा गाभेर नारायण नगरपालिका बनाउने निर्णय भएको छ । यस नगरपालिकाको केन्द्र हालकै रहने छ । यस्तै काँशिकाँध, रानीवन, बाँसी र बडाखोलालाई गाभेर महाबु गाउँपालिका बनाइने छ । यसको केन्द्र गैँडाबाज रहने छ ।
तोली, नौमले, बालुवाटार, कालिका, द्धारी, सल्लेरी र चौराठा गाभेर नौमुले गाउँपालिका बनाउने सहमति भएको छ । यसको केन्द्र नौमुले रहने छ । यस्तै पगनाथ, जगनाथ, महेलतोली रुम, कट्टी र बडाभैरव गाभेर भगवतीमाई गाउँपालिका बनाइने छ । यसको केन्द्र बेस्तडा रहने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
लाँकुरी, बेलपाटा, डाँडापराजुल र अवलपराजुल गाभेर बन्ने डुंगेश्वर गाउँपालिकाको केन्द्र डाँडापराजुल बनाउने सहमति भएको छ । यस्तै लालीकाँडा, पिलाडी, गोगनपानी, सेरी, बराह र खड्गवाडा गाभेर बनाइने गुराँस गाउँपालिकाको केन्द्र भटुकेनीचौर राख्ने सहमति भएको छ ।
क्षेत्र नम्बर दुईमा दुल्लु नगरपालिकामा मालिका, गौरी, कालभैरव र गमौडी गाभेर दुल्लु नगरपालिका बनाउने र यसको केन्द्र हालकै दुल्लुलाई बनाउने सहमति भएको छ । यस्तै जम्बुकाँध, चामुन्डा र लयँटीविन्द्रासैनी गाभेर चामुण्डा विन्द्रासैनी नगरपालिका बनाउने र यसको केन्द्र जम्बुकाँध बनाउने सहमति भएको छ ।
राकमकर्णाली, सात्तला, तिलेपाटा, सिँगौडी, पिपलकोट र सिँहासैन गाभेर आठविस नगरपालिका बनाउने सहमति भएको छ । स्रोतका अनुसार यस नगरपालिकाको केन्द्र राकमकर्णाली हुनेछ । लकान्द्र, विशाला र तोलीजैसी गाभेर ठाँटीकाँध गाउँपालिका बनाउने निर्णय भएको छ । यसको केन्द्र ठाँटीकाँध रहने छ ।
यस्तै रावतकोट, भैरीकालिकाथुम र कुसापानीलाई गाभेर भैरवी गाउँपालिका बनाउने सहमति भएको छ । यसको केन्द्र सिलंगी रहनेछ । क्षेत्र नम्बर १ र २ का नेता तथा पेशाकर्मीबीच कुन क्षेत्रमा कति इकाई बनाउने भन्नेमा चर्काे बहस भएपनि दलहरु लामो छलफलपछि निश्कर्षमा पुगेका हुन् । स्थानीय पुनर्संरचना आयोगले यही कात्तिक २० गतेभित्र प्रतिवेदन बठाउन जिल्लास्थित प्राविधिक समितिलाई परिपत्र गरे अनुसार निर्णय सहित पठाइ सकिएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार १७:५३