राजविराज, १५ असार ।
मादकपदार्थ सेवन गरी सवारी चलाएको भन्दै एकजना भारतीय नागरिकलाई मङ्गलबार सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।
राजविराज–७ स्थित रुपनी रोडमा रोकिराखेको ज ६ प ६००१ नम्बरको मोटरसाइकलमा रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बिआर ०६ पिए–३७१८ नम्बरको स्कारपियो कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक घाइते भएपछि प्रहरीले चेक जाँच गर्दा स्कारपियो चालक भारतको मधुवनीका २५ वर्षीय प्रदीप कामैतले मादकपदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
पक्राउ परेका कामैतमाथि सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतको विहारमा मादकपदार्थ सेवनमा रोक लगाइएपछि सप्तरीसहित तराईका जिल्लामा भारतीय नागरिकको मादकपदार्थ सेवनमा वृद्धि भइरहेको बताइएको छ ।
कुटपिट, तीनजना पक्राउ
यसैगरी, कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई जिल्ला अदालत राजविराजको तामेलदारसहितको टोली पक्राउ गर्न जाँदा उनीहरुमाथि सप्तरीको कञ्चरुप नगरपालिका–१० स्थित घोघनपुरमा मङ्गलबार आक्रमण भएको छ ।
जार मुद्दामा केही वर्षदेखि फरार रहेका स्थानीयवासी मोहम्मद रोजित मियाँलाई जिल्ला अदालत राजविराजका तामेलदार रामकृष्ण खिडहरीको नेतृत्वमा गएको सुरक्षाकर्मी र खिडहरीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि कुटपिटसँगै हातपात गरेपछि थप मद्दतका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गएर आक्रमण गर्ने सोही नगरपालिका–१० का ४३ वर्षीय जीवरेल मोहम्मद र ५० वर्षीय छुतहरु मियाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।
फरार अभियुक्त रोहित मियाँलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । मियाँलाई जार मुद्दामा जिल्ला अदालतले एक महिनाको कैद सजाय तोकेको थियो । पक्राउ गरिएका मियाँलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराज कारागार पठाइने र बाँकी आक्रमण गर्ने दुई व्यक्तिलाई म्याद थप गरी सार्वजनिक मुद्दा चलाइएको प्रहरी निरीक्षक महतले बताए ।
रासस
प्रकाशित मिति: १५ असार २०७३, बुधबार ०९:२३