काठमाडौं, २९ भदौ । नेपालका लागि जापानका राजदुत मासासी ओगावाले काठमाडौँको ट्राफिक समस्या समाधान गर्न त्रिपुरेश्वर देखि माइतीघरसम्म फ्लाई ओभर व्रिज निर्माण गर्ने विषय प्राथमिकतामा राखेको बताएका छन् ।
सहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग बुधबार भएको शिष्टाचार भेटमा नेपालका लागि जापानका राजदुत मासासी ओगावाले जापान सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) मार्फत काठमाडौँको ट्राफिक समस्या समाधान गर्न त्रिपुरेश्वर देखि माइतीघरसम्म फ्लाई ओभर व्रिज निर्माण गर्ने विषय प्राथमिकतामा राखेको बताएका हुन् । शिष्टाचार भेटमा उनले फ्लाई ओभर व्रिज निर्माण देखिएका राजनीतिक लगायतका अन्य जटिलता हटाउने पहल गर्न मन्त्री केसीको ध्यानाकर्षण गराएका छन् ।
सहरी विकास मन्त्रालयमा भएको भेटमा मन्त्री केसी र राजदुत ओगावा वीच दुईपक्षीय, बहुपक्षीय सम्वन्ध, भूकम्पपछिको पुनर्निर्माण र व्यवस्थित सहरीकरण तथा सहयोगका क्षेत्र विस्तारका बारेमा छलफल भएको थियो ।
भेटमा मन्त्री केसीले जापान सरकारले नेपालको विकास प्रयासमा पु¥याउँदै आएको सहयोगको चर्चा गर्दै भूकम्प पछिको पुनर्निर्माणमा जापानले पु¥याएको सहयोगले दुई पक्षीय सम्वन्ध अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
मन्त्री केसीले राजधानी काठमाडौँ भूकम्पीय जोखिममा रहेकाले विपद् जोखिम न्यूनीकरणमा जापानको अनुभव सदुपयोग गर्दै त्यसका लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह समेत गरे ।
मन्त्री केसीले नेपालका सहरी क्षेत्रहरुमा ४२ प्रतिशत जनताको वसोवास रहेको र धेरैमा सहरी क्षेत्र प्रतिको आकर्षण बढ्दो देखिएकाले काठमाडौँ लगायत अन्य ठूला तथा मझौला सहरहरुको पूर्वाधार विकासमा जापान सरकारको सम्लग्नतामा जोड दिए । उनले काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक समस्याको व्यवस्थापनका लागि फ्लाई ओभर व्रिज लगायत अन्य आवश्यक सहयोग गर्न समेत आग्रह गरे ।
भेटमा राजदूत ओगावाले नेपालको भौतिक पूर्वाधार विकासमा सहभागि हुन पाउँदा जापानलाई गर्व लागेको वताउँदै संबिधान निर्माणपछि नेपालले विकासको गति लिनु सुखद संकेत रहेको बताए ।
मन्त्री केसी र जापानी राजदुत ओगावाबीचको भेटघाटमा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा, सहसचिव एवं प्रवक्ता शिवहरी शर्मा र परराष्ट्र मन्त्रालयका उत्तरपूर्व एशिया महाशाखाका शाखा अधिकृत कुमार राईको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार १५:४८