काठमाडौं, ५ असोज- चन्दा असुली उद्देश्यले एक समूहले मंगलबार उपत्यकाका ११ विद्यालयमा ‘बम’ राखेर आतंक मच्चाएको छ । राजनीतिको आवरणमा एक दशकदेखि आपराधिक गतिविधिमा संलग्न माओवादी कम्युनिस्ट केन्द्र नामक पार्टीले आतंक मच्चाएको प्रहरीको भनाइ छ ।
कम्युनिस्ट केन्द्र पार्टीको भ्रातृ संगठनहरू अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपालले विद्यालयमा विस्फोट गराएको प्रहरीले जनाएको छ ।
यी दुई संगठनको नाममा स्कुलहरूमा पर्चा राखिएको थियो । पर्चामा विद्यालयहरूले महँगो फी लिएकाले घटाउन माग गरिएकोलगायतका विषय उल्लेख गरिएको छ ।
मंगलबार जोरपाटीका दुई स्कुलमा सिलिन्डर बम विस्फोट गराइएको छ । दक्षिणढोकाको आकाशदीप, मनकामना स्कुलमा मिनि सिलिण्डर र पेट्रोल राखेर बिष्फोट गराइएको थियो । भने अन्य ९ स्कुलमा तर्साउन प्रेसर कुकुर तथा जगभित्र बारुद भरेर नक्कली बम राखिएको प्रहरीले जनाएको छ । अन्य स्कुलमा नक्कली बम राखिएको महानगरीय प्रहरी आयुक्त एआईजी प्रतापसिंह थापाले बताए ।
नारायणटारको एम्बेस्डर, इष्टपोल, बौद्धको बालसंसार, महाराजगंजको कान्तिपुर बोर्डिङ, डल्लुको कञ्चनजंघा र सानेपाको रेडियन्स रिडर्स एकेडेमीमा बारुद तथा कुकुरसहित नक्कली बम राखिएको प्रहरीले जनाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको संयोजक मीन देवकोटा र योङग कम्यूनिष्ट फोर्सको संयोजक सुमन श्रेष्ठ हुन् । स्कुल बसमा आगो लगाउदा दुवै साधरण तारेखमा छुटेका थिए प्रहरीले मंगलबारको घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेका लाखे र तामाङले ६ भदौमा आईडियल मोडल स्कुलको बसमा आगो लगाएका थिए ।
त्यसको भोलीपल्ट पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भुले आगजनी मुद्दामा कारबाही गरेको थियो । सो मुद्दामा उनीहरु अदालतबाट साधरण तारेखमा छुटेको स्वयम्भु वृत्तका डिएसपी कोमल शाहले बताए । चन्दका लागि स्कुलसँग पटक पटक छलफल गरेकोमा कुरा नमिलेपछि उनीहरुले बसमा आगजनी गरेको स्रोतले बतायो ।
‘तर अदालतले साधारण तारेखमै छाड्ने आदेश दिएर उनीहरुलाई अप्रत्यक्ष रुपमा प्रोत्साहन गर्ने काम गरे,’ एक प्रहरी अधिकारी भन्छन्, ‘त्यसकारण उनीहरुको मनोबल बढ्यो र स्कुलमै बम बिष्फोटसम्मका घटनामा संलग्न भए ।’ २३ भदौमा अदालतको आदेशमा उनीहरु साधरण तारेखमै छुटेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार ०६:५५