काभ्रे, २५ भदौ । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले जनताले गास काटेर जम्मा गरेको रकम डुब्न नदिन सहकारी ऐन आवश्यक भएको बताएका छन् । उनले सहकारीको माध्यमबाट जनतालाई समृद्धि तर्फ लैजान पनि सहकारी ऐन अपरिहार्य भएको बताए ।
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं वार्षिक साधारण सभामा अाज बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्री थानीले सहकारी ऐनको अभावमा जनताको १० अर्ब रुपैयाँ डुबेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सबैलाई मान्ने हुने सहकारी मैत्री ऐन निर्माणमा आफ्नो पहिलो जोड रहेको बताए ।
सहकारी सम्बन्धी औपचारिक कार्यक्रम पहिलो पटक सहभागि भएको सहकारी तथा गरिबी निवारण मन्त्री थानीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतामा आधारित भएर सहकारी ऐन ल्याउने समेत प्रतिवद्धता जनाए । उनले सहकार िक्षेत्रमा देखिएको वेथितिलाई नियन्त्रण गर्न ऐन ल्याउने आफ्नो मुख्य लक्ष्य भएको जनाए ।
जनताले रकम आफ्नै घरमामै राखे जस्तो गरी चाहेको वेला झिक्न र राख्न पाउने गरी सहकारी क्षेत्रको विश्वास दिलाउन सक्ने गरी ऐन ल्याउने तयारीमा मन्त्रालय रहेको उनले जानकारी दिए । उनले भने–‘समस्या ग्रस्त सहकारी क्षेत्रको समस्या समाधान र जनताको छटपटीलाई ऐन बनाएर निसाव दिलाउने छु ।’
काभ्रे ३ का सांसद कन्चनचन्द्र वादेले जनताको अधिकार सुरक्षित गर्न बिपी कोइरालाले सोचे अनुरुपको सहकारी क्षेत्रको विकासका लागि सहकारी ऐन निर्माण गर्न आवश्यक भएको बताए । उनले आर्थिक अनुशासनमा रहेर सञ्चालनमा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. ले जनताको हितमा थप कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विकास वादेको सभापतित्वमा भएको उक्त साधारण सभामा संस्थाका सचिव बुद्धरत्न मानन्धरले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष नविनभक्त वादेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार १६:१८