काठमाडौ ४ असोज-बीमा कम्पनीहरूको पूँजी वृद्धिसम्बन्धी व्यवस्थाका लागि बीमा समितिले पहल गर्दै गर्दा स्वयम् बीमा कम्पनीहरू यसमा अग्रसर देखिएका छन् । पछिल्लो समय बढ्दै गएको बीमाको क्षेत्रलाई अझ फराकिलो बनाउन पूँजी वृद्धि गर्न आवश्यक रहेको हिमालयन जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील वज्राचार्यले बताए । वर्तमान व्यवस्थाअनुसार जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापूँजी रू. ५० करोड तोकिएको छ भने निर्जीवन बीमा कम्पनीका लागि रू. २५ करोड छ ।
तर, बीमा समितिले तयारी गरेअनुसार निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम रू. ४ अर्ब र जीवन बीमा कम्पनीका लागि रू. ५ अर्ब पूँजी एकैपटक पु¥याउन नसकिने भएकाले अहिलेदेखि नै तयारी शुरू गरेको उनको भनाइ छ । सो अनुसार पूँजी वृद्धिको व्यवस्थासहित बीमा समितिले बीमा ऐनको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ । समितिले प्रस्तावित ऐनको मस्यौदा छलफलका लागि १५ महीना अघि नै मन्त्रालय पठाएको हो ।
हिमालयन जनरल इन्स्योरेन्सले बजार मागलाई दृष्टिगत गर्दै पूँजी वृद्धिको योजना ल्याएको छ । हिमालयनले हकप्रद शेयर जारी गरेर चुक्तापूँजी २ सय २० प्रतिशत वृद्धि गर्ने वज्राचार्यको भनाइ छ । ‘हामीले १ बराबर २ दशमलव २ को अनुपातमा हकप्रद शेयरको प्रस्ताव आगामी शुक्रवार हुने कम्पनीको वार्षिक साधारणसभामा लैजाँदै छौं,’ उनले भने । साधारणसभाबाट पारित भएपछि कम्पनीले हकप्रद शेयर जारी गर्नेछ र कम्पनीको चुक्तापूँजी रू. ३२ करोडबाट १ अर्ब माथि पुग्ने उनको भनाइ छ ।
यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले पनि बढ्दो बीमाबजारलाई दृष्टिगत गर्दै कम्पनीको चुक्तापूँजी बढाउन लागेको कम्पनीका सीईओ विवेक झाले बताए । हाल नेपाल लाइफको चुक्तापूँजी रू. १ अर्ब ७३ करोड रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्तापूँजी ५० करोडबाट बढाएर गतवर्ष नै सो तहमा पुर्याएको थियो । नेपालको बजार सानो भएकाले एकैपटक ठूलो मात्रामा चुक्तापूँजी बढाउन नसकिने झाले बताए ।
पछिल्लो समय अन्य बीमा कम्पनीहरू पनि विस्तारै चुक्तापूँजी वृद्धि गर्ने दिशामा अग्रसर भएका छन् । यसैक्रममा सूर्या लाइफलगायत कतिपय बीमा कम्पनीले हकप्रद तथा बोनस शेयर जारी गरिसकेका छन् । बीमा समितिले नभने पनि बजारको आकारअनुसार पूँजी बढाउँदै जानु स्वाभाविक भएको सरोकारवालाहरूको भनाइ छ । ‘पछि समयसीमा तोकेर आएमा ठूलो मात्रामा पूँजी वृद्धि गर्न अप्ठ्यारो पर्ने भएकाले अहिले नै तयारी गरेका हौं,’ झाले भने ।
प्राइम लाइफ इन्स्योरेन्सले पनि पूँजी वृद्धिका लागि गृहकार्य गरिरहेको र विस्तृत जानकारी १ हप्ताभित्रै आउने बताइएको छ । पूँजी वृद्धिका लागि धेरै कम्पनी सकारात्मक भए पनि केही कम्पनी भने यसमा तटस्थ रहेका छन् । पूँजी वृद्धि कम्पनीको आवश्यकताअनुरूप मात्र बढाइने भएकाले अहिले यति नै रकम तोकिनुपर्ने आवश्यक नरहेको युनाइटेड इन्स्योरेन्सका एक अधिकारीले बताए । पूँजी वृद्धिका लागि एउटै कम्पनीबाट सम्भव नभएमा मर्जसमेत गर्न सकिने बीमा समितिले बताउँदै आएको छ । यसका लागि समितिले डेढ वर्ष अघि नै मर्जसम्बन्धी निर्देशिका पनि सार्वजनिक गरेको छ ।
समितिको तथ्याङ्कअनुसार कम्पनीले नेपालमा रहेका जीवन र निर्जीवन बीमाको प्रिमियम वर्षैपिच्छे बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ को विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा दोब्बरले बढेको छ । १७ निर्जीवन कम्पनीहरूको आव २०७२/७३ मा खुद नाफा २ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ रहेको छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।
सोही अवधिमा अघिल्लो आवमा कम्पनीहरूको नाफा १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ रहेको थियो । यो नाफा अघिल्लो आवको भन्दा २ गुणाले बढी हो । यसैगरी नौ जीवन बीमा कम्पनीको आव २०७२/७३ मा खुद नाफा रू. ७४ करोड ७२ लाख रहेको थियो । सोही अवधिमा अघिल्लो आवमा कम्पनीहरूको नाफा रू. ६० करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार ०७:११