सुर्खेत, ३ असोज । वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०७२/०७३ मा गरेका आर्थिक, भौतिक प्रगतिको फेहरिस्ते सार्वजनिक गरेको छ । समीक्षा कार्यक्रम गरी नगरपालिकाले सो प्रगति हासिल गरेको जनाएको हो ।
नगरपालिकाले गत आर्थिक वर्षमा पशु वधशाला व्यवस्थापन, न्यूनतम् कार्यशर्तको कार्यान्वयन, वडा नागरिक मंचको विस्तार, टोल सुधार समिति, नागरिक सचेतना केन्द्र गठन र विस्तार, एकीकृत सम्पत्ति कर लागू, बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, छाडा पशु चौपाया नियन्त्रण, सहरी स्वास्थ्य क्लिनिक संचालन, नगर यातायात गुरुयोजना तयार, खुला दिसामुक्त क्षेत्र घोषणाजस्ता कार्यक्रमहरु गरेको जनाएको छ ।
नगरपालिकाले सुर्खेतको बसपार्कको काम ३५ प्रतिशत सकिएको, कार्यालयको नयाँ भवन निर्माण भइरहेको, मन्त्रालयको मापदण्ड अनुसार सडकहरु मापदण्डभित्र ल्याइएको, ल्याण्डफिल्ड साइटको सडक स्तर बृद्धि गर्ने कामपनि भइरहेको बताएको छ ।
नगरपालिकाले गत आवमा २ करोड ८६ लाख आम्दानी गर्न सफल भएको छ । जसमा एकीकृत सम्पत्ति करबाट १ करोड ३५ लाख, नक्सा पासबाट १ करोड ९४ हजार, व्यवसाय करबाट १९ लाख ८६ हजार र अन्य करबाट २१ लाख ६८ हजार रुपैयाँ आम्दानी भएको छ ।
गत आर्थिक वर्षमा नगरको वडा नं. ७ लाई बालमैत्री घोषणा गरिएको, वडा नं. १ र १० लाई वातावरणमैत्री वडा घोषणा गरिएको, बजार क्षेत्रका घरहरुमा कौसी खेती गरिएको, ७ वटा समुदायलाई स्वस्थ समुदाय घोषणा गरिएको, मुख्य बजार क्षेत्रमा सोलार वत्ती जडान गरिएको नगरपालिकाका बरिष्ठ प्रशासन अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
यसैगरी ८ पटक फुटपाथ अतिक्रमण विशेष अभियान संचालन गरिएको, ८ सय बढी छाडा पशु नियन्त्रण गरिएको, नक्सापास विपरित घर निर्माण गर्ने १५ जनालाई कारबाही गरिएको नगरपालिकाका बरिष्ठ प्रशासन अधिकृत पौडेलले जानकारी दिए ।
यस्तै नगरभित्रका ७ हजार ४५९ जनालाई २ करोड ८० लाख सामाजिक भत्ता वितरण गरिएको बताइएको छ । सो अवधिमा नगरपालिकामा २५ सय २१ जनाको जन्मदर्ता, ८२५ जनाको विवाह दर्ता, ४ सय ४८ जनाको बसाईसराईं, ११ जनाको सम्वन्ध विच्छेद र ४ सय ३५ जनाको मृत्यु दर्ता भएको छ ।
नगरपालिकाले गर्न नसकेको कामहरुको पनि जानकारी गराएको छ । जसमा भूउपयोग योजना, दमकलको व्यवस्थापन, बेरुजु ७० प्रतिशतले नघटेको, सार्वजनिक जग्गाको संरक्षण, टाउन हल निर्माण, एक बस्तु एक नगरको अवधारणाजस्ता योजनाहरु रहेका छन् । नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्माले नगरभित्र निर्माणाधीन भएका योजनाहरु समयमै सक्ने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार १८:४०