बागलुङ, २५ भदौ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरको बागलुङस्थित दोस्रो खण्डको काम सुरु भएको छ ।
टाकुरीदेखि बागलुङ र गुल्मीको सीमास्थल पालुङखोला सम्मको २२ किमिमा नेपाली सेनाले काम सुरु गरेको हो । उक्त खण्डको मार्ग खोल्ने कार्यको शुक्रबार पूर्व शिक्षामन्त्री दिनानाथ शर्मा र बागलुङ क्षेत्र नं– २ का सांसद प्रकाश शर्मा पौडेलले संयुक्त रुपमा उद्घाटन गरे ।
टाकुरी–पालुङखोला मार्ग खुल्ने वित्तिकै देशको उत्तरी नाका कोरला र दक्षिणी नाका सुनौलीसम्म सिधा यातायात सुचारु हुनेछ । नेपाली सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले चालु आवभित्रै मार्ग खोल्ने काम पूरा गर्ने लक्ष्य लिएको छ । कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बेलैमा बजेटको व्यवस्था भएमा निर्धारित समयमै काम पूरा हुने विश्वास व्यक्त गरे ।
उक्त मार्ग खोल्न र पुल निर्माणका लागि करिब रु ५० करोड खर्च हुने उनको भनाइ छ । ‘पुल बाहेकको काममा रु ३३ करोड खर्च लाग्नेछ, सरकारले अहिले रु १९ करोड बजेट उपलब्ध गराएको छ’ इन्जिनियर भट्टराईले भने ‘बजेट अभाव भएन भने हामी समयमै काम पूरा गर्छौं ।’ सेनाले यसअघि मालढुङ्गादेखि टाकुरीसम्मको १४ किमि सडकको काम निर्धारित समय अगावै पूरा गरेको थियो । उक्त खण्डमा हाल यातायात सञ्चालनमा आइसकेको छ ।
करिडोरको बागलुङ खण्डको काममा सडक विभागले ढिलासुस्ती गरेपछि सरकारले मार्ग खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । टाकुरी–पालुङखोला सडक खण्डको काम पूरा भएमा बागलुङदेखि पाँच घन्टामा बुटवल पुग्न सकिनेछ । अहिलेको २५० किमिको यात्रा १५० किमिमा सिमित हुने इन्जिनियर भट्टराईले बताए ।
पालुङखोलासम्मको मार्ग खोलेपछि सेनाले जिम्मा लिएको बागलुङ मालढुङ्गादेखि गुल्मी रिडीसम्मको ७६ किमि पूरा हुने पनि उनले बताए ।
पालुङखोलादेखि रिडीसम्मको ४२ किमि सडकको मार्ग खोल्ने काम सेनाले गत वर्षनै सम्पन्न गरेको छ । करिडोरमा सिधा यातायात सञ्चालनमा आएमा यस क्षेत्रका लाखौं सर्वसाधारण लाभान्वित हुनेछन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलाई सामरिक र रणनीतिक हिसाबले समेत महत्व दिइएको छ ।
सरकारले पनि बजेट विनियोजनमा वर्षैपिच्छे करिडोरलाई प्राथमिकता दिदै आएको छ । राष्ट्रिय प्राथिमकताको आयोजनामा पर्ने करिडोर निर्माणका लागि सरकारले बजेट अभाव हुन नदिने बताएको छ ।
गुल्मीको रिडीदेखि बागलुङको मालढुङ्गासम्म बाह्रैमास यातायात सञ्चालन गर्न पाँच ठाउँमा ‘बेलिबृज’ र सात ठाउँमा ‘स्ल्याब कल्र्भट’ हाल्नुपर्ने निर्माण कार्यदलले जनाएको छ ।
तीनसय ४२ किमिको कालीगण्डकी करिडोरको २८ किमि सडक बागलुङ खण्डमा पर्छ । रासस