काठमाडौं, २९ भदाै । कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारबाट सुरु हुँदै छ । ‘सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ नारासहित हुन लागेको महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले साढे १२ बजे भृकुटीमण्डपमा उद्घाटन गर्नेछन् ।
संस्थापन पक्षले संघको अध्यक्षमा उमा रेग्मी र नेता रामचन्द्र पौडेल पक्षले मीना पाण्डेलाई उम्मेदवार बनाएका छन् । संघको महाधिवेशन सुरु हुनु एक दिनअघि दुवै समूहले अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् ।
कांग्रेसका यी दुई नेतृ रेग्मी र पाण्डेबीच यसअघि ०५८ मा विराटनगरमा सम्पन्न पहिलो महधिवेशनमा पनि प्रतस्पर्धा भएको थियो । जसमा पाण्डेलाई पराजित गर्दै रेग्मी अध्यक्ष बनेकी थिइन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
संस्थापन समूहबाट महासचिवमा धना खतिवडाले उम्मेदवारी दिने भएकी छिन् । नेता कृष्णप्रसाद सिटौला समूहबाट खतिवडा महासचिवको उम्मेदवार बन्न लागेकी हुन् ।
यसअघि सिटौला समूहले महिला संघमा छुट्टै प्यानल बनाउने बताउँदै आएको थियो । संगठनको अरू पदमा दुवै पक्षले सूची बनाउन बाँकी छ ।
रजिस्ट्रेसन र उम्मेदवारी शुल्क बैंकमार्फत
महिला संघको महाधिवेशनमा मुलुकका विभिन्न भागबाट आएका प्रतिनिधिको रजिस्ट्रेसन बैंकिङ प्रणालीमार्फत भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सेन्चुरी बैंकले शाखा स्थापना गरी महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन गरिरहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
रजिस्ट्रेसन शुल्क प्रतिप्रतिनिधि हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिमा पुग्न उम्मेदवारी दिनेले पनि उम्मेदवारी शुल्क बैंकिङ प्रणालीमार्फत बुझाउनुपर्ने केसीले बताए ।
महिला संघको महाधिवेशनमा दुई हजार दुई सय प्रतिनिधि सहभागी हुने प्रवक्ता निर्मला क्षेत्रीले जानकारी दिइन् ।
मतदान भोटिङ मेसिनबाट
संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मेसिनबाट मतदान हुने भएको छ । ३१ भदौमा बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको महिला संघले जनाएको छ ।
केन्द्रीय कार्यसमिति ६५ सदस्यीय, नौबाहेक सबै निर्वाचित संघीय संरचनासहित प्रस्तावित महिला संघको नयाँ विधानमा केन्द्रीय कार्यसमिति ६५ सदस्यीय हुने उल्लेख छ ।
तीमध्ये नौजना मनोनीत र बाँकी सबै निर्वाचित हुने विधानले व्यवस्था गरेको छ ।
अध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्वाचित हुनेछन् । खुलातर्फको प्रतिस्पर्धाबाट २२ सदस्य, प्रत्येक प्रदेशबाट तीन–तीनजनाका दरले सात प्रदेशबाट २१ सदस्य, आरक्षित कोटामा दलित, जनजाति र मधेसीमा तीन–तीन र मुस्लिम एक गरी ५३ सदस्य निर्वाचित हुनेछन् ।
प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार ०६:५५