असार १७, कर्णाली जलाधार क्षेत्रमा पर्ने पानीका मुहानहरूको बृहत अनुसन्धान तथा अभिलेखीकरण कार्य सुरु भएको छ।
जलाधार क्षेत्रमा पर्ने रारा, खत्याड, तिला नदी, मध्य कर्णाली र तल्लो कर्णाली नदी क्षेत्रमा अध्ययन भइरहेको हो।
मुगु, कालिकोट, जुम्ला, आछाम, दैलेख, बर्दिया, कैलाली र सुर्खेत गरी ८ जिल्लाका २९ पालिकामा अध्ययन भइरहेको हो।
नागरिक वैज्ञानिक अवधारणा अन्तर्गत सुरू गरिएको यो अनुसन्धानमा ७ सय १५ जना नागरिक-वैज्ञानिकहरू सहभागी छन्।
ती जिल्लाका प्रत्येक वडाबाट उनीहरुलाई छनोट गरेर पानी मुहान अध्ययन सम्बन्धी एक दिने तालिम दिएर अभिलेखीकरणका लागि परिचालन गरिएको थियो।
काठमाडौं विश्वविद्यालय, आइसेट नेपाल र हाइड्रो ल्याब पुल्चोकका अनुसन्धानकर्ताहरूको अगुवाइमा पानीको मूलको अध्ययन र पहिचान गर्ने काम भइरहेको हो ।
वैशाख दोस्रो सातादेखि सुरू भएको अभियानमा वैज्ञानिकहरूसहित नागरिकहरू पनि पानी मुहानमा पुगेर अवलोकन गर्दै त्यसको विवरण संकलन गरिरहेका छन्।
हालसम्म ७ हजार भन्दा बढी मुहानहरूको अभिलेखीकरण गरिएको छ ।
अभिलेखीकरण गर्न पानी मुहानको अवस्था, त्यसको बहाब र पानीको गुणस्तर मापनको काम भइरहेको अनुसन्धानकर्ता एवं त्रिभुवन विश्विवद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक दीपनारायण शाहले बताउनुभयो।
मुहान पहिचानका लागि पानीको रसायनिक र भौतिक अवस्थाको अध्ययन भइरहेको छ।
परीक्षणकहरू जलाधार क्षेत्रमै लगिएको घुम्ती प्रयोगशालाबाट भइरहेको काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक एवं अनुसन्धानकर्ता रामदेवी तचामो शाहले बताउनुभयो।
मध्य पहाडी क्षेत्रको पानीको मूल त्यहाँका मानिसहरूको जीवनस्तरसँग प्रत्यक्ष जोडिएको छ। पालिकाको पानीको, सरसफाई र खानेपानी आयोजना सञ्चालन गर्नका लागि स्रोत पत्ता लगाउनका लागि यो अध्ययनले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
प्रकाशित मिति: १८ असार २०७९, शनिबार १७:४७