काठमाडौ २१ भदौ – विस २०७० फागुन ९ गते स्थायी लेखा नम्बर (प्यान) लिएकी नीरा रानाभाट २०७३ साउन ३० गते आन्तरिक राजस्व कार्यालय पुतलीसडक, काठमाडौं पुगिन् । प्यान लिएदेखि आफूले गरेका हरेक आय बुझ्ने क्रममा उनले आफ्नो प्यान उल्लेख गरेकी छिन् । यसको अर्थ हो उनले बुझाएको आयकर कानूनी प्रक्रियाबाट सरकारलाई प्राप्त भयो । ‘मैले आजसम्म कति कर बुझाएछु’ जान्ने उत्सुकताले उनी आन्तरिक राजस्व कार्यालय पुगेकी थिइन् । तर, त्यहाँ पुगेर प्यान खाता हेर्दा एक रुपैयाँ पनि दाखिला भएको उल्लेख नभएको पाइन् ।आर्थिक अभियान दैनिकमा खबर छ ।
आर्थिक वर्ष २०६८/६९ देखि लागू हुने गरी परिवर्तित व्याख्यासहितको राजस्व शीर्षक सङ्केतअनुसार पारिश्रमिक आयकर भन्नाले ‘तलब, ज्याला, मजदूरी, पारिश्रमिक, भत्ता एवम् सुविधा, अवकाश भुक्तानी, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न स्रोतबाट हुने आयमा लाग्ने कर’ भन्ने बुझिन्छ । यस्तो कर व्यक्तिले प्राप्त गर्ने आयबाट कट्टी भइसकेपछि नियमानुसार कर कार्यालयमा दाखिला हुनुपर्छ र सरकारको राजस्वका रूपमा देशको विकास निर्माण तथा अन्य आवश्यक क्षेत्रमा खर्च हुन्छ । जसरी राज्यले तोकेको कर बुझाउनु नागरिकको कर्तव्य हो, त्यसैगरी आफूले तिरेको करको हर हिसाब पाउनु नागरिकको अधिकार । कत्तिको आउँछन् त आफूले बुझाएको करको हिसाब हेर्न ? ‘खासै आउँदैनन्,’ आन्तरिक राजस्व कार्यालयका कर अधिकृत हरि ढकाल भन्छन्, ‘हेर्न चाहनेले यहाँबाट आईडी पासवर्ड लिएर अनलाइनमै हेर्ने पनि व्यवस्था छ ।’
हरहिसाब हेर्छन् त करदाता?
चर्चित गायक एवम् सङ्गीतकर्मी आनन्द कार्की आफूले गरेका व्यक्तिगत तथा संस्थागत कामहरूबाट भएको कमाइको कर तिरेको बताउँछन् । तर, अहिलेसम्म कति कर तिरिएछ नहेरेको उनको भनाइ छ । साङ्गीतिक क्षेत्रमा अझै पनि कामको भुक्तानी चेकबाट नभई नगदमा हुने अभ्यास रहेको उनी बताउँछन् । यसो हुँदा कसले कति लिएको, कति दिएको रेकर्ड नहुने हुनाले कर कति तिरियो पनि जानकारीमा नबस्ने उनी बताउँछन् । ‘पहिलो कुरा त यस क्षेत्रमा हुने भुक्तानी प्रणाली बैङ्किङमार्फत हुनु आवश्यक रहेको छ,’ उनी भन्छन्, ‘त्यसैगरी कलाकारहरूले तिरेको कर सबका सामुन्ने खुला किताब जसरी राखिनु पनि पर्छ ।’ सरकारलाई बलियो बनाउन करको भूमिका रहने भएकाले व्यक्तिले कर तिरिसकेपछि त्यसलाई तत्काल दाखिला गर्नु रोजगारदाताको जिम्मेवारी हुने र डिजिटल माध्यमबाट देखिने बनाउनु कर कार्यालयको कर्तव्य हुने गायक कार्कीको भनाइ छ ।
प्रत्येक महीना आफूलगायत सम्पूर्ण कर्मचारीको तलबबाट कर काटेर कर कार्यालयमा बुझाउने गरेको गोल्डेनगेट कलेजका प्रमुख रमेश सिलवाल बताउँछन् । उनी भन्छन्, ‘कर बुझाइसकेपछि कर कार्यालयबाट कर बुझिलिएको विवरण ल्याई व्यक्तिगत हेर्न चाहने कर्मचारीलाई व्यक्तिगत र सामूहिक विवरण हेर्न चाहनेलाई सामूहिक सूची सार्वजनिक गर्ने गरेका छौं ।’ सिलवाल नागरिकले राज्यसँग आवश्यक कुराहरू माग गर्नु पनि पर्ने र कर तिर्न जिम्मेवार पनि हुनुपर्ने धारणा राख्छन् । बरु आफूले तिरेको कर र करको सदुपयोगबारे भने चनाखो हुनुपर्ने उनको भनाइ छ ।
एसपीआई नेपाल नामक आइटी कम्पनीमा कार्यरत सुनिता केसीले प्यान नम्बर लिएर तलबबाट कर कट्टी गर्न थालेको ६ वर्ष भयो । तर, आजसम्म आफूले कति कर तिरेछु भनी खोजी नगरेको बताइन् । ‘खोजी गर्नु, हेर्नु त पर्ने हो । तर, अफिसमाथि विश्वास भएकाले अहिलेसम्म हेरिएन,’ उनी भन्छिन् । कर कार्यालयमै गएर हेर्न सहज नभएको र अनलाइन हेर्ने व्यवस्था छ भन्ने जानकारी नभएकाले पनि नहेरिएको उनको भनाइ छ ।
कसरी हेर्ने हरहिसाब?
व्यक्तिले तिरेको करको जानकारी लिनका लागि सबैभन्दा पहिला व्यक्तिगत स्थायी लेखा नं (प्यान) लिनुपर्छ । त्यसपछि बुझ्ने पारिश्रमिकको नियमानुसार आयकर बुझाएको हुनुपर्छ । त्यसपछि ईटीडीएस गर्नुपर्छ । त्यसपछि कर कार्यालयबाट आफ्नो नाममा युजर आईडी र पासवर्ड उपलब्ध हुन्छ । सोका आधारमा तिरेको करको जानकारी लिन सकिन्छ । यसका लागि डब्ल्यूडब्ल्यूडब्ल्यू डट आईआरडी डट जीओभी डट एनपीमा गई ट्याक्स पेयर पोर्टलभित्र ईटीडीएस खोलेपछि जानकारी प्राप्त हुन्छ ।
प्रकाशित मिति: २१ भाद्र २०७३, मंगलवार ०७:३४