युवा तथा खेलकुदमन्त्री दलजित विक श्रीपालीसँग मुक्तिबाबु रेग्मीका ५ प्रश्न ।
सातौं राष्ट्रिय खेलकुद कस्तो रह्यो ?
लामो प्रतीक्षापछि पहिलोपटक पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल भयौं । प्रतियोगिता सम्पन्न गर्दा धेरै चुनौतीका पहाड हामीतिर केन्द्रित थिए । खेलाडी तथा पदाधिकारीहरू र सिंगै सरकारले साथ दिएपछि पूर्वाञ्चलमा प्रतियोगिता सम्पन्न गर्ने अवस्थामा पुगेका थियौं । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता धेरैपटक स्थगित भएको थियो । जुन २–२ वर्षमा हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले ५ वर्षसम्म हुन सकेन जसले गर्दा खेलाडीहरूमा निराशा छाएको थियो । यही निराशा हामीले चिर्दै प्रतियोगिताको आयोजना गरी नयाँ आशा जगाउन सफल भएका छौं ।
म त भन्ने गर्छु सातौं राष्ट्रिय खेलकुद इतिहासकै ‘आइसब्रेक’ हो । हामीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न सफल हुँदा हुँदै पनि भएका केही कमीकमजोरीलाई स्वभाविकरुपमा लिन पनि आग्रह गर्दछु । अहिले हामी सातौ राष्ट्रिय खेलकुदमा कहाँ कमजोरी भयो भनेर अनुगमन गर्नकालागि समिति नै बनाएका छौँ, त्यसको प्रतिवेदन आएको छैन, आएपछि सच्चाएर आगामी दिनमा अघि बढ्छौँ ।
आठौं राष्ट्रिय खेलकुदको तयारी कस्तो छ ?
हामीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २ वर्षभित्रै गर्ने गरी तयारी थालेका छौं । यसका लागि मध्यपश्चिममा गर्ने भनेर हामीले झन्डा हस्तान्तरणसमेत गरिसकेका छौं भने नवौं मध्यमाञ्चलमा गर्ने भनेर घोषणा गरेका छौं । यसका लागि खेलकुदको पूर्वाधार निर्माणको तयारी पनि भइरहेको छ । हाम्रो लक्ष्य २०७५ भित्रै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नेछ । विगतको जस्तो नभएर हामी चाँडै प्रतियोगिताका लागि बजेट पनि पु¥याउने, भौतिक पूर्वाधारहरू खडा गर्ने काम थाल्दै छौं । तर, प्रतियोगिता हुँदा मध्यपश्चिम भन्ने हुँदैन, किन भने संविधानले प्रदेशको अवधारणा ल्याइसकेपछि हाम्रो आठौँ राष्ट्रिय खेलकुद प्रदेश स्तरमा सम्पन्न गर्छौं ।
अनि १३औं सागको तयारी ?
१३औं सागको तयारीका सम्बन्धमा पूर्वाधार निर्माणको कुरा अघि बढिसकेको छ । १३औं सागको तयारीका लागि सचिवालय पनि बनाइसकेका छौँ । १३औं साग खेलकुद नेपालमा आयोजना गर्ने विशेष अवसर पाएका छौं, यसलाई खेर जान दिँदैनौं । साग खेलकुद मन्त्रालयले मात्रै आयोजना गर्ने विषय होइन, यो त देशकै प्रतिष्ठासँग पनि गाँसिएको छ । त्यसैले प्रधानमन्त्रीको अध्यक्षतामा एउटा समिति बनाइसकिएको छ भने मेरो नेतृत्वमा पनि अर्को समितिले काम गरिरहेको छ । १३औं साग अलिकति समय पछि सरे पनि सन २०१९ मा आयोजना गर्न सक्षम छौं । पूर्वाधार निर्माणका लागि पोखरामा सुरु भइसकेको छ । काठमाडौंको दशरथ रंगशालालाई ‘ओपनिङ’ र ‘क्लोजिङ’ का रुपमा प्रयोग गर्छौं । काठमाडौका अन्य ठाउँमा खेलकुद आयोजना गर्ने तयारी गरिरहेका छौं । हामीले च्यासल मैदान, स्विमिङ पुल सातदोबाटो, रंगशालामा पनि खेल आयोजना गर्छौं । उपत्यकाका विभिन्न खेल मैदान तथा कर्भडहलहरूलाई स्तरोन्नति गर्दै प्रतियोगिता आयोजना गर्छौं । त्यसका लागि बजेट निकासा भइसकेको छ । काठमाडौं उपत्यकाबाहेक पोखरा र तराईका केही जिल्लामा पनि प्रतियोगिता आयोजना गर्ने तयारी छ । पोखरामा महिला फुटबल, ह्यान्डबल, आर्चरी र मार्सल आर्टका ७ खेल आयोजना गर्ने तयारी छ ।
बजेट नि ?
सागका लागि सरकारले २ अर्ब ७६ करोड छुट्याएको छ । यो पूर्वाधार निर्माणमा खर्च हुनेछ । योबाहेक बाँकी रकम निकासा गर्ने विषयमा सरकार सकारात्मक छ । सरकारले १३औं सागका लागि लाग्ने जति पनि रकम दिन तयार छौं भनेकाले हामीले ढुक्क भएर काम थालेका हौं । प्रधानमन्त्री र अर्थमन्त्रीबाट सकारात्मक पहल भएकाले १३औं सागको विषयमा आर्थिक अभाव हुँदैन ।
नेपाल ओलम्पिक कमिटीको विवादले असर गर्दैन ?
एनओसीको विवाद प्रत्येक नयाँ मन्त्रीहरू र सरकार फेरिँदा बल्झने विवाद हो । यो विवाद खेलकुद क्षेत्र विधि र सिस्टममा नभएपछि देखिएको हो । ओलम्पिक कमिटीको विवाद कुनै न कुनै स्वार्थमा आधारित छ । अहिले सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सम्बन्धमा उठेको विवाद हो । यसको चुरो कुरो भनेको राजनीतिक कारण हो । जुन हामी चाँडै सार्वजनिक गर्ने तयारीमा छौं । सरकार निर्माणसँगै केही त्यस्ता घटना बने त्यसैले यो विवाद समाधान गर्न खेल क्षेत्रलाई राजनीतिबाट बाहिर राख्नुपर्छ । अब सबैले एक कदम माथि उठेर अघि बढ्ने बेला आएको छ । यति भनिराख्दा मैले एनओसीमा देखिएको विवादलाई ठूलो रुपमा लिएको पनि छैन । किन भने खेल क्षेत्रलाई अघि बढाउन सहकार्यको आवश्यकता छ । विवाद सहमति र सहकार्यबाटै टुंग्याउन लागि परिरहेको छु । यो विषयमा अरू जिम्मेवार देखिएनन् भने सरकारको तर्फबाट र विभागीय मन्त्रीका हिसाबले ‘रिक्स’ लिन तयार छु । विवाद समाधानका लागि छलफल पनि गरिरहेको छु । अब सामूहिक छलफलबाट समाधान निकाल्ने प्रयासमा छु । यो सम्भव पनि छ । यो विवादले सागलाई कुनै असर पार्दैन ।