नयाँ दिल्ली ३१ भदौ-प्रधानमन्त्री प्रचण्डले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता तय भएको छ । भारतीय समयअनुसार बिहान ११ः३० देखि १२ बजेसम्म हुने सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता तय भएको छ ।
भारतीय विदेश मन्त्रालयको कार्यतालिकाअनुसार १ देखि १ः१० बजेसम्म हैदराबाद हाउसको बल रुममा दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
त्यसपछिको २० मिनेट प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन हुनेछ, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले सम्बोधन गर्नेछन् ।
१ः३० देखि एक घन्टा दिवाभोज हुनेछ । प्रचण्ड र मोदीबीच बिहान राष्ट्रपति भवनमा, एक्लाएक्लै, औपचारिक प्रतिनिधिमण्डलस्तरमा र पत्रकार सम्मेलनमा गरी चारपटक भेटवार्ता हुनेछ ।
शुक्रबार बिहानैदेखि प्रधानमन्त्री व्यस्त प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान ९ बजेदेखि रातिसम्म भेटवार्तामा व्यस्त हुनेछन् ।
प्रचण्डलाई बिहान ९ बजे राष्ट्रपति भवनमा भारतीय सेनाले गार्ड अफ अनर दिएसँगै औपचारिक कार्यक्रम सुरु हुनेछ । सो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् ।
मोदीले नै प्रचण्डलाई राष्ट्रपति भवनमा स्वागत गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले ९ः३० बजे महात्मा गान्धीको समाधिस्थलमा गएर दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिको राजकीय पाहुनाका रूपमा प्रधानमन्त्री प्रचण्डसहित प्रतिनिधिमण्डलका १५ सदस्य राष्ट्रपति भवनमा बसेका छन् ।
सरकारी भ्रमण दलका बाँकी ३७ जनालाई भने ताजमानसिंह होटेलमा बस्ने व्यवस्था मिलाइएको छ ।
राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्ड, श्रीमती सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक, योजना तथा पूर्वाधारमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारी, परराष्ट्रसचिव शंकरदास बैरागीसहित भ्रमण दलका सचिवहरूलाई राखिएको छ ।
प्रधानमन्त्रीको राजकीय भ्रमणमध्ये शुक्रबार सबैभन्दा महत्वपूर्ण कार्यक्रम हुनेछ ।
प्रधानमन्त्रीको सम्मानमा बिहीबार होटेल ताजमानसिंहमा आयोजित रात्रिभोजमा भारतका विदेश राज्यमन्त्री भिके सिंह, कंग्रेस नेता डा. करण सिंह, पूर्वराजदूतहरूसहित ठूलो संख्यामा बुद्धिजीवी, नेताहरू सहभागी थिए । रात्रिभोजमा प्रचण्डले भूकम्पपछि भारत सरकार, संघसंस्था र जनताले नेपालीलाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार ०७:१५