अस्ट्रेलिया, १६ असार । अस्ट्रेलियाको निर्वाचनकालागि मात्र दुइ दिनको समय बाँकी हुँदा सत्तारुढ लिबरल र प्रमुख प्रतिपक्ष लेबर यस पटक आ-आफ्नो सरकार बनाउनका लागि तिब्र प्रचारमा जुटेका छन् ।
अस्ट्रेलियाका यी प्रमुख दुइ राजनीतिक पार्टीमा यतिखेर नेपाली समुदायको पनि बलियो उपस्थिति बनेको छ । नेपाली मुलको प्रभुत्व बढदैजाँदा यहाँका राजनीतिक पार्टीहरुले भोट तान्न नेपाली समुदायलाई समेट्ने प्रयास गरेका छन् । करिब दुइ महिना अघि मात्र लेबर पार्टीको नेपाली शाखाले औपचारिकता पाएको थियो । बडो धुमधामका साथ लेबरले नेपाली फ्रेन्डस अफ लेबरको स्थापना गरेको थियो ।
यसै हप्ता नेपाली फ्रेन्ड्स अफ लिबरलले एक रात्रीभोजको आयोजना गर्दै लिबरलको नीति तथा कार्यक्रम मार्फत भोटका लागि नेपाली समुदायलाई अपील गरेको छ । कार्यक्रममा सत्तारुढ लिबरलका मन्त्री देखि यस क्षेत्रका उमेद्बारको समेत उपस्थिति थियो ।
कार्यक्रममा संघिय बहुसांस्कृतिक सहायक मन्त्री कार्गी लण्डी, वार्टन क्षेत्रका उमेद्बार निक भार्वारिस, पारमाटा क्षेत्रका उमेदबार माइकल वेकविथ र ब्ल्याक्सल्यान्ड क्षेत्रका फेलसीटी फीन्ड्लीको उपस्थित भएका थिए ।
अन्तरक्रिया कार्यक्रम समेत रहेको सो रात्रिभोजमा सत्ताधारी मन्त्री कार्गीले नेपालीहरुको समस्याका रुपमा देखिएको भिषा प्रासेसलाई आफुले प्राथमिकताको सुचीमा राखेको र यस चुनाब जित्यो भने लिबरलले काठमाडौवाटै अस्ट्रेलियाको भिषा उपलब्ध गराउने प्रयास गर्ने बताए । उनले नेपालीहरुको उत्साहजनक सहभागिता र सहयोगका कारण लिबरलले नेपालको पछिल्लो बिध्वंसकारी भुकम्पमा सरकारको माध्यमवाट सक्दो सहयोग गरेको समेत बताए ।
कार्यक्रममा लिबरल फ्रेन्ड्स अफ नेपालका अध्यक्ष श्री नापीतले कार्यक्रमको महत्व र लिबरको निती बारे प्रकाश पारेका थिए । अस्ट्रेलियन सत्तारुढ दलले नेपाली समाजसँग नाता जोडन आफैमा महत्वपुर्ण बिषय रहेको यसका उपाध्यक्ष बिवेक थापाले बताए । थापाले भने, कमसे कम हाम्रा कुराहरु सीधै सरकारमा पुग्ने एउटा वाटो त बनेको छ, यो नै लिबरल फ्रेन्ड्स अफ नेपालको एउटा उद्देस्य हो ।
संगठनका सचिब निरज श्रेष्ठले अस्ट्रेलियन राजनितीक दलसँगको यो सम्वन्धले नेपाल र नेपालीको आवाज यहाको सरकारसँग पुग्ने बिश्वास ब्यक्त गरे । उनले लिबरले जिते निकट भबिष्यमै भिषाको बारेमा टुंगो लाग्ने बताए । आखिर प्रवासमा बसेर नेपाली राजनीतिको कम्पनमा रुमल्लीएको प्रवासी समाज बिस्तारै मुल बाटो र सिधा वाटो हिड्न थालेको भान भएको छ । कार्यक्रममा नेपाली समाजका अगुवाहरु प्रदिप ढकाल बुद्धी डल्लाकोटी, मेघराज श्रेष्ठ, विजय फुयाललगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १६ असार २०७३, बिहीबार १८:३६