सरीपुल (अफगानिस्तान), २१ जेठ ।
अफगानिस्तानको उत्तरी प्रान्त सरीपुलमा १७ सर्वसाधारण नागरिक अपहृत भएका छन् ।
सशस्त्र हतियारधारी व्यक्तिहरूले ती १७ व्यक्तिको अपहरण गरेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
बुधबार अबेर राति प्रान्तीय राजधानी सरीपुलको बल्खाब जिल्लामा दुई वटा मिनिबस र एक ट्रकमा रहेका १७ व्यक्ति सशस्त्र व्यक्तिहरूले अपहरण गरेको बताइएको छ ।
ती आक्रमणकारीहरूले ती व्यक्तिहरूलाई अज्ञात स्थलमा सारेको प्रान्तीय गभर्नर जाहिर वहदातले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
सुरक्षाबल र स्थानीय बुर्जुकहरू अपहरण भएको ती व्यक्तिहरूलाई सुरक्षित तरिकाबाट मुक्त गराउने प्रयास गरिरहेको जनाइएको छ ।
अफगानिस्तानको यसै हप्तामा भएको योे दोस्रो अपहरणको घटना हो । यसअघि गत मङ्गलबार बिहान लामो दुरीमा चल्ने तीनवटा बस बीच बाटोमा रोकी कम्तीमा १६ जना अफगान नागरिकको गोली हानी हत्या गर्नुका साथै कम्तीमा ४५ जनालाई अपहरण गरेका थिए ।
तालिवान आतङ्ककारी समूहले हत्या गरिएका ती व्यक्तिहरूमा सुरक्षा अधिकारीहरू रहेको तालिवानले दावी गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलबाट २५० किलोमिटर उत्तरमा पर्ने कुन्दुज प्रान्तमा गत मङ्गलबार अपहरणमा परेका यात्रुमध्ये अझै आठ जना तालिवानको कब्जामा रहेका जनाइएको छ ।
तालिवान आतङ्ककारी समूहले अफगानिस्तानमा अप्रिलको सुरुबाट भीषण आक्रमण गर्ने बताएअनुसार विभिन्न इलाकामा आक्रमण गर्दै आएका छन् ।
अफगानिस्तानमा जारी द्वन्द्वमा परी यसैवर्षको सुरुदेखि चारमहिनाभित्र करिब ६ सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ हजार ३४० जना घाइते भएका छन् ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले पछिल्लो समयमा हिंसाको शृङ्खला बढ्दै गएको जानकारी दिएको छ ।
रासस/सिन्ह्वा/एएफपी