रत्ननगर (चितवन), २२ कात्तिक । चितवनको भरतपुरस्थित घरेलु तथा साना उद्योग कार्यालय परिसरको खुला मैदानमा अन्तर्राष्ट्रियस्तरको सुविधायुक्त प्रदर्शनी केन्द्र निर्माणमा जिल्लाका सांसदले सहयोगको प्रतिबद्धता जनाएका छन् ।
आइतबार चितवन उद्योग सङ्घको आयोजनामा प्रदर्शनी केन्द्र निर्माणका लागि सांसदसँग भएको अन्तक्र्रियाका क्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अघिल्लो सरकारका पालामा यहाँ सुविधायुक्त प्रदर्शनी केन्द्र बनाउने निर्णय भई रातो किताबमा समेत परिसकेको छ । करिब रु ३० करोड लागतमा निर्माण गर्ने उक्त प्रदर्शनी केन्द्र निर्माणको अगुवाइ चितवन उद्योग सङ्घले गरेको छ ।
सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसहित अन्य सांसद कृष्णभक्त पोखरेल, काशीनाथ अधिकारी, शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ, गीता वाग्ले, विष्णुमायाँ परियार र सावित्री चौधरीले प्रदर्शनी केन्द्र निर्माण अत्यावश्यक भएको भन्दै सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
सङ्घका निवर्तमान अध्यक्ष कृष्ण अधिकारीले सरकारबाट रु १५ करोड माग गरिएको र रु १५ करोड रकम निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबाट सङ्कलन गरिने बताए ।
सांसद पाण्डेले यो वर्ष सरकारले उक्त केन्द्रका लागि रु २० लाख छुट्याएको जानकारी दिँदै सरकारी जग्गामा सरकारले घोषणा गरेको प्रदर्शनी केन्द्र जसरी पनि निर्माण गर्नुपर्नेमा जोड दिए ।
अर्का सांसद कृष्णभक्त पोखरेलले आफ्नोतर्फबाट हुने कुनै पनि सहयोग जुनसुकै बेलामा उपलब्ध हुने आश्वासन दिए । सांसद रामकृष्ण घिमिरेले व्यवसाय प्रवद्र्धन गर्नका लागि चितवनमा प्रदर्शनी मैदान अत्यावश्यक रहेको जोड दिँदै भने, “हामीलाई घच्घच्याउनुहोस्, जहाँ जान परे पनि तयार छौँ ।”
सांसद अञ्जनी श्रेष्ठ, गीता वाग्ले तथा विष्णुमायाँ परियारले पनि आवश्यक सहयोग गर्ने आश्वासन दिइन् । सङ्घका अध्यक्ष भीमबहादुर पाण्डेले रु २५ लाख, कृष्ण अधिकारीले रु २१ लाख उपाध्यक्ष भेषराज दवाडीले रु २० लाख सहयोग गर्ने समेत घोषणा गरेका छन् । निर्माण समितिले तयार पारेको प्रदर्शनी केन्द्रको नक्सा सोही क्रममा प्रदर्शन समेत गरिएको थियो ।
संयोजकमा सापकोटा मनोनयन
यसैबीच आइतबारै भएको कार्यक्रममा प्रदर्शनी केन्द्र निर्माण समितिको अन्तर्राष्ट्रिय क्षेत्र हेर्ने गरी गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय सदस्य तथा डेनमार्कका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटालाई संयोजक मनोनयन गरिएको छ ।
सांसदले उनलाई प्रदर्शनी केन्द्र निर्माण अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकको मनोनयन पत्र समेत प्रदान गरेका थिए ।
मनोनयन पत्र लिँदै सापकोटाले एनआरएनएबाट प्रदर्शनी केन्द्र निर्माणका लागि सहयोग जुटाउने प्रतिबद्धता जनाए । रासस