बर्दिबास, ३ असोज । भिठ्ठामोर–जलेश्वर–जनकपुर सडक छ लेनको बन्नुपर्ने माग राख्दै छ दिनदेखि महोत्तरीको पिपरामा आमरण अनशन जारी राखेका अनशनकारीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
अनशनकारीकोस्वास्थ्य अवस्था जाँच्न अनशनस्थल पुगेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको अवस्था नाजुक बनेको जनाएको हो ।
महोत्तरी र धनुषाको सदरमुकाम जोड्ने सो सडक छ लेनको बन्नुपर्नेसहितका पाँच सूत्रीय माग राख्दै गत मङ्गलबार अनशन सुरु गरेका चारमध्ये ३० वर्षीय सत्येन्द्र यादवको अवस्था सबैभन्दा नाजुक रहेको स्वास्थ्य जाँचमा संंलग्न जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले बताए ।
शरीरमा पानी रित्तिँदै गएका यादवलाई रगतमासीसमेत भएको छ । त्यसैगरी अनशनमा बसेका नयाँ शक्ति नेपालका नेता रामकुमार शर्मा, तमलोपाका आरके रोशन र रञ्जीत राज मधेसी पनि निकै कमजोर बनेका चिकित्सक टोलीको भनाइ छ ।
यसबीचमा स्वास्थ्यकर्मीबाहेक अन्य कुनै सरकारी निकायले अनशनकारीसँग भेटघाट र टेलिफोन वार्तामा समेत रुची नदेखाएका अनशनकारीहरुको रेखदेख गर्दै आउनुभएका सुन्दर अभियानी मनोज झा मुक्तिले बताए ।
सरकारले गत भदौ २४ गते सडक स्तरोन्नति गरिने जनाउँदै भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले शिलान्याससमेत गरिसकेपछि अब सडकका लागि आन्दोलन आवश्यक नरहेको हुलाकी राजमार्ग परियोजनाका कार्यकारी निर्देशक बलराम मिश्रले बताउँदै अाएका छन् ।
सडक बन्ने निश्चित भएर शिलान्याससमेत भइसकेपछि सुरु गरिएको आन्दोलनले ठेकेदार काम गर्न नपाइने आशङ्कामा भाग्न सक्ने स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
विगतमा पनि यो सडकको स्तरोन्नतिको काम सुरु हुनै लाग्दा आन्दोलनका कार्यक्रम थालिएपछि तत्कालीन भारतीय ठेकदार काम छाडेर भागेका सडक आसपासका बासिन्दा बताउँछन् । रासस